समूहमा आलुखेती


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०७८ मा प्रकाशित




म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ । रघुगङ्गाको वडा नं १ बेग, वडा नं २ भगवती, वडा नं ५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ८ कुइनेमङ्गलेका कृषक समूहलाई अनुदानमा बीउ, मल र प्राविधिक सहयोगमा सामूहिक आलुखेती विस्तार गरिएको हो ।

हरेक कृषक समूहले कम्तीमा २०० रोपनी जग्गामा लगाउने सम्झौतासहित पाँच ब्लक बनाएर गाउँपालिकाबाट सामूहिक आलुखेती कार्यक्रमलाई कार्यान्वयन गरिएको कृषि शाखा संयोजक सविना शर्माले जानकारी दिए ।

गाउँपालिकाको रु ३० लाख र कृषक समूहबाट रु ३० लाख बराबरको श्रमदानसहित रु ६० लाख लागत अनुमानको बजेटबाट रघुगङ्गामा आलुखेती लगाउने अभियान सञ्चालन गरिएको छ । सामूहिक आलुखेतीलाई प्रभावकारी बनाउन एक ब्लकमा रु १२ लाखको कार्यक्रमअन्तर्गत गाउँपालिकाको रु छ लाख र कृषक समूहको रु छ लाखसहितको योजनाअनुसार आलु ब्लक कार्यान्वयन गरिएको कृषि शाखाले जनाएको छ ।

निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आएको आलुखेतीलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरुपमा अघि बढाउन आलु ब्लक खेती विस्तार गरिएको कृषि शाखा संयोजक शर्माले बताए । उक्त कार्यक्रमअन्तर्गत रघुगङ्गा–२ रिसिन चौतारीस्थित बरखर्क कृषि समूहमा आबद्ध २४ कृषकले सामूहिकरुपमा २०० रोपनी जग्गामा आलुखेती गरेका छन् ।

समूहमा आबद्ध सदस्यले सामूहिकरुपमा खेती लगाएका हुन् । गाउँमा निर्वाहमुखी खेतीमा सीमित रहेको जमिनलाई भाडामा लिएर गाउँपालिकाबाट मिनिटेलर र प्राविधिक सहयोगमा कृषक समूहको सक्रियतामा २०० रोपनी जग्गामा आलु विस्तार गरिएको बरखर्क कृषक समूहकी कोषाध्यक्ष देवी कटुवालले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।