साङ्केतिक तस्विर
गलकोट । पठनपाठन राम्रो हुँदै गएपछि निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढ्दै गएको छ । बागलुङ नगरपालिका–३ रातमाटास्थित धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयमा निजी विद्यालय छाडेर भर्ना हुनेको संख्या बढेको हो।
विसं २०६८ देखि नै विद्यालयमा अङ्गे्रजी माध्यमबाट पढाइ हुन थाल्यो । विद्यार्थीको मागअनुसार विद्यालयमा पढाइ हुन थालेपछि विस्तारै निजी विद्यालयमा अध्ययन गर्न छाडेर यस विद्यालयमा विद्यार्थी आउन थालेको प्रधानाध्यापक भूमिराज गौतमले जानकारी दिए ।
कक्षा १ देखि १० सम्म अङ्ग्रेजी माध्यम, कक्षा ११ र १२ अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराउन थालिएको छ । यस्तै विसं २०७३ देखि पशु विज्ञानतर्फ कक्षा ९ देखि १२ सम्म अध्यापन भइरहेको विद्यालयले जनाएको छ । पशु प्राविधिक शिक्षाका लागि बागलुङबाहेक म्याग्दी तथा पर्वत जिल्लाबाट समेत अध्यापनका लागि आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन शर्माले बताए ।
विद्यालयमा विज्ञान विषयका तीनवटा प्रयोगशाला र कम्प्युटर ल्याबको व्यवस्थासमेत गरिएको छ । विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अङ्ग्रेजी माध्यम, कम्प्युटर शिक्षा, कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन विषय र कक्षा ९ देखि १२ सम्म पशु विज्ञान अध्यापन भइरहेको छ ।
स्थानीयवासीले दैलोको विद्यालय बन्द हुने अवस्थामा आएको देखेपछि आफैँ जागरुक भएर विद्यालयको शैक्षिक सुधारमा लागेको स्थानीयवासी हिमाल शर्माले बताए । बागलुङ बजार नजिकै रहेको उक्त विद्यालयमा भौतिक पूर्वाधारको भने कमी छ ।
भिरालो जमिनमा रहेको विद्यालयको तारबार गर्न अत्यन्तै आवश्यक देखिएको छ । विद्यालयमा अध्यापन गराउनका लागि अझै पनि कक्षाकोठाको अभाव भइरहेको विद्यालयले जनाएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







