पर्यटक लिन गएको सवारी दुर्घटनामा चालकको मृत्यु


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ घलेलमा आज स्करपियो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा सोही गाउँपालिकाको अस्ताम निवासी ४६ वर्षीय बलबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल इको भिलेजमा दिउँसोे पर्यटक लिन गएको ग २ च ३९३१ नम्बरको गाडी घलेल–कालीमाटी सडक खण्डको तादी खोला पारी उकालोमा सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

दुर्घटना लगत्तै भिँडाबारी प्रहरी चौकीबाट गएका सुरक्षाकर्मी र स्थानीयवासीले चालकको उद्धार गरेका थिए । दुर्घटनामा परेको गाडी अस्तामस्थित अन्नपूर्ण इको भिलेजको रहेको बताइएको छ ।

मर्दी हिमालबाट फर्किएका पर्यटकलाई लिन गएको गाडी दुर्घटनामा परेपछि पर्यटकलाई अर्को गाडीको व्यवस्था गरी गन्तव्यमा पठाइएको मर्दी हिमाल इको भिलेजका प्रवन्ध निर्देशक शिवप्रसाद भण्डारीले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।