मलेसिया रोजगारीका लागि पूर्वस्वीकृति


     एभरेस्ट आवाज    
     चैत्र ७ गते २०७८ मा प्रकाशित




कोरानाका कारण २ वर्षदेखि बन्द भएको मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम धमाधम भइरहेको छ।

वैदेशिक रोजगार कार्यालय ताहाचलले गएको मंगलबारदेखि मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम गर्न थालेको हो।

सो कार्यालयका सूचना अधिकारी हरिराम नागिलाले अहिलेसम्म ४ सय भन्दा बढी संख्याको माग स्वीकृति भइसकेको छ भने ६ सय भन्दा बढी स्वीकृतिको लाइनमा रहेको जानकारी दिएका छन् ।

उनले वैदेशिक रोजगार कम्पनीमार्फत पूर्वस्वीकृतिका लागि आएका मागको स्वीकृति गर्ने काम द्रत गतिमा भइरहेको पनि जानकारी दिए।

सो कार्यालयका अनुसार मलेसिया खुलेपछि गएको मंगलबारदेखि पहिलो विज्ञापन पूर्वस्वीकृति नम्बर २५८८१६ जारी भई विभागको वेबसाइटमा सार्वजनिक भएको छ। सो कार्यालयका सूचना अधिकारी नागिलाका अनुसार सरकारले मलेसिया रोजगार खुला गरिसकेकाले अब दूतावासले प्रमाणित गरेको मागको निवेदनले धमाधम विज्ञापन पूर्वस्वीकृति पाउनेछ।

मलेसियामा रोजगारीका लागि विशेषगरी निर्माण क्षेत्रका कामदार, सुरक्षा गार्ड र उत्पादन क्षेत्रमा कामदारको माग आउने गरेको छ। गएको साता श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियामा नेपालीलाई रोजगार गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकूल नहुने गरी नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएको मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय गरेका थिए।

गोरखापत्रमा समाचार छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।