कास्की अदालतको दुई इजलास कक्ष कसले तोडफोड गर्यो ?


     एभरेस्ट आवाज    
     चैत्र ९ गते २०७८ मा प्रकाशित




पोखरा — जिल्ला अदालत कास्कीका दुई वटा इजलास कक्षमा मंगलबार राति तोडफोड भएको छ । अदालतको एक नम्बर र छ नम्बर इजलास कक्षमा तोडफोड भएको प्रहरीले जनाएको हो । एक नम्बर इजलासमा प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र छ नम्बर इजलासमा देवप्रसाद योगीले मुद्दा हेर्दै आएका थिए ।

एक नम्बर इजलास कक्षको ढोका मात्रै फोरिए पनि छ नम्बर इजलास कक्षमा भित्र रहेको दराज पनि फुटाइएको छ । दराजमा रहेका महत्त्वपूर्ण प्रमाण र मिसिलहरू चोरी भएको आशंका गरिएको छ । बुधबार बिहान सरसफाइ गर्न आएकी कर्मचारीले इजलास कक्षका ढोका फुटेको देखेपछि माथिल्लो तहका कर्मचारीलाई खबर गरेकी थिइन् । चौबीसै घण्टा अदालतको मुख्य प्रवेशद्वारमा प्रहरी सुरक्षा हुन्छ ।

साथै अदालतको अगाडि नै वडा प्रहरी कार्यालय बैदाम रहेको छ । यस्तो कडा सुरक्षा घेराका बीच अदालतमा पसेर दराज फुटाइनुलाई शंकास्पद घटनाका रूपमा लिइएको छ । कोठाभित्र ढोका फुटाउन प्रयोग गरिएको फलामको रड पनि भेटिएको र घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।