स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छापिने


     एभरेस्ट आवाज    
     चैत्र १० गते २०७८ मा प्रकाशित




काठमाण्डौंं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छपाइ गर्ने भएको छ ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाता नामावलीमा सूचीकृत भएका करिब एक करोड ७७ लाख मतदाताका लागि सो सङ्ख्यामा मतपत्र छपाइ गरिने जानकारी दिए । “आयोगले यही चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेपछि मतपत्रको छपाइ सुरु हुन्छ, मतदाता सङ्ख्याको करिब १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्छ”, उनले भने , “विभिन्न जोखिम मध्यनजर गरेर मतदाताको सङ्ख्याभन्दा बढी मतपत्र छाप्नुपर्ने अवस्था देखिएको हो । आयोगले करिब दुई करोड थान मतपत्र छाप्नुपर्ने आँकलन गरेको छ ।” मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल भइरहेको आयोगले जनाएको छ ।

आयोगले दर्ता भएका दलमध्ये राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ राजनीतिक दलले पेश गरेका आ–आफ्नो जिल्लास्तरको सङ्गठन संरचना ९जिल्ला समिति० को विवरण छानबिनको काम भइरहेको जनाएको छ ।

आयोगले राष्ट्रिय मान्यता प्राप्त बाहेकका दललाई यही चैत ६ गतेसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि सङ्गठन संरचना पेश गर्न अनुरोध गरेको थियो । “जिल्लाबाट दलको सङ्गठन संरचनासहितको विवरण प्राप्त भएको छ, आयोगले अध्ययन गरिरहेको छ”, सहप्रवक्ता अर्यालले भने ।

निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालासँगको अन्तरक्रिया बुधबारदेखि देशभर सुरु भएको आयोगले जनाएको छ । मतदाता नामावली, मतदाता परिचय पत्र, निर्वाचनसँग सम्बन्धित निर्देशिकालगायत सामग्री छपाइका लागि विभिन्न ६ प्याकेजको बोलपत्र स्वीकृत गरी आपूर्तिकर्तासँग सम्झौता गर्न पत्राचार गरिएको उनले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।