आयोगको पारदर्शिता बलियो बनाउनुपर्छ :प्रदेश प्रमुख गुरुङ


     एभरेस्ट आवाज    
     चैत्र ११ गते २०७८ मा प्रकाशित




फाइल तस्वीर : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ ।

कास्की । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोकसेवा आयोगले आफ्नो पारदर्शिता र निष्पक्षतालाई अझै बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । गण्डकी प्रदेश लोकसेवा आयोगको प्रथम वार्षिकोत्सव समारोहको आज पोखरामा उद्घाटन गर्दै उनले आयोगले आफूले अवलम्बन गरेको योग्यता, निष्पक्षता र स्वच्छताका मूल्य मान्यताको आधारमा प्रतिस्पर्धात्मक परीक्षा पद्धतिको माध्यमबाट योग्यतम व्यक्तिको छनोट हुन्छ भन्ने विश्वास नागरिकमा दिलाएको बताए ।

उक्त विश्वासमा अझै उचाइ थप्न गण्डकी प्रदेश लोकसेवा आयोग सफल हुने उनले विश्वास व्यक्त गरे । स्थानीय सार्वजनिक प्रशासनलाई सक्षम र सुदृढ बनाउन प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा कर्मचारी छनोट गर्ने दायित्व पूरा गर्दा आयोगका मूल्यमान्यतालाई आत्मसात् गरी योग्य व्यक्ति छनोट गर्ने कुरामा आयोग परिवार कटिबद्ध भएर लाग्ने गुरुङले बताए ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयतालाई चिनाउनका लागि प्रदेश लोकसेवा आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सुशासनका लागि सक्षम, सवल कर्मचारीतन्त्र आवश्यक हुनेमा जोड दिँदै उनले प्रदेश लोकसेवा आयोगको आवश्यकताअनुसार सक्षम जनशक्ति दिने विश्वास व्यक्त गरे।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गण्डकी प्रदेशले अरु क्षेत्रमा जस्तै प्रशासनिक क्षेत्रमा पनि नेतृत्व गर्नुपर्ने उल्लेख गर्दै प्रदेश लोकसेवा आयोगले योग्यता, दक्षतायुक्त जनशक्ति पठाउने बताए । आयोग स्थापनाको एक वर्षमा भएका कामकारबाही प्रशंसनीय भएको उनको भनाइ थियो ।

प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता पृथ्वीसुब्बा गुरुङले आयोगको एक वर्ष उपलब्धिपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा प्रदेशमा आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउनका लागि आयोग सफल बन्ने विश्वास व्यक्त गरे । लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले सङ्घीय निजामती ऐन बन्न नसक्दा समस्या आएको बताए ।

आयोगको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आयोगले आफ्ना काम अघि बढाएको र निष्पक्षता, पारदर्शितालगायत विषयमा आयोग प्रतिबद्ध भएको बताउनुभयो । कार्यक्रममा आयोगका सदस्यद्वय योगेन्द्र गौचन र कल्पना लम्साल, प्रदेश लोकसेवा आयोग प्रदेश १ का अध्यक्ष उत्तमकुमार भट्टराईलगायतले आयोगको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

उक्त अवसरमा उत्कृष्ट कर्मचारी शाखा अधिकृत सन्दीप ढुङ्गानालाई सम्मान गरिएको थियो भने आयोगको स्मारिका लोकार्पण गरिएको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।