जनकपुर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरुसँग आग्रह गरेका छन्।
विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ सङ्क्रमणको खतरा अझै कायम रहेकाले स्वास्थ्य मापदण्डको परिपालना गर्नुपर्ने बताएका हुन् ।
जनतामा मत माग्न जाँदा विकास र समृद्धिका नारा मात्र होइन कोभिड–१९ बारे जोगिने विषयमा जनचेतनासमेत फैलाउन आग्र्रह गर्दै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ महामारीबाट जोगिन सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यक रहेको बताए । विश्वका कतिपय मुलुकहरुमा अझै कोभिड–१९ सङ्क्रमणका कारण मानवीय क्षति भइरहेकाले नेपाललाई कोभिड–१९ मुक्त घोषणा नगरेसम्म सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने बताए ।
कोभिड–१९ सङ्क्रमणको जोखिमलाई कम गर्न खोप लगाउने कार्यलाई तीव्र गति दिनुपर्ने औँल्याउनुहुँदै अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा अझै खोप लगाउने दर बढ्न नसकेकाले यसलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नेपालस्थित विश्व स्वास्थ्य सङ्गठन कार्यालयका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले कोभिड–१९ सङ्क्रमण नियन्त्रण र रोकथामका लागि नेपालमा भएको प्रयास प्रशंसनीय रहेको बताउँदै अझै स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने बताए।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







