पोखरा विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०७८ मा प्रकाशित




कास्की । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ ।

विमानस्थलको मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सकिएपछि चिनियाँ निर्माण कम्पनी सिएएमसीइले हस्तान्तरण गर्ने भएको छ । चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिकरुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको विमानस्थल आयोजना प्रमख विनेश मुनंकर्मीले जानकारी दिए।

उनका अनुसार आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चीनका परराष्ट्रमन्त्री वाङ यीले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्नेछन् । सोही समयमा पोखरा आयोजनास्थलमा पनि चिनियाँ निर्माण कम्पनीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्नुहुने कार्यक्रम रहेको आयोजनाले जनाएको छ ।

मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सम्पन्न भएकाले विमानस्थल हस्तान्तरण गर्न लागिएको हो । विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल(एटिसी)भवनलगायत विभिन्न १४ भवन, ट्याक्सी वेलगायत मुख्य काम सकिएका छन् । विमानस्थल आयोजनाका वरिष्ठ अधिकृत सविन फुयाँलले विमानस्थलका मुख्य काम सबै सकिएको र सामान्य केही काम मात्र बाँकी रहेको बताउनुभयो । सरकारले यसै वर्षभित्रमा विमानस्थल सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

निर्माण कम्पनीसँगको सम्झौताअनुसारका आयोजनाका मुख्य काम सकिएपनि विमानस्थल सञ्चालनका लागि पूर्णरुपमा तयार हुन अझै काम बाँकी नै छन् । आयोजनाका अनुसार नेपाली पक्षले गर्नुपर्ने ‘ल्याण्डफिल साइट’ व्यवस्थापन, विमानस्थलको पूर्वपट्टीको रिठेपानी डाँडा कटान र ‘फ्युल स्टेशन’को काम अझै सुरु हुन सकेको छैन । बाँकी कामका लागि कागजी प्रक्रिया अघि बढे पनि स्वीकृत हुन बाँकी छ ।

डाँडा कटानका लागि मन्त्रीपरिषद्ले पूरक प्रतिवेदन पेश गर्ने र वनसँग सम्झौता गर्ने गरी दुई पूर्व शर्तसहित यसअघिनै वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको थियो । पूरक प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश भइसकेको र स्वीकृतिको चरणमा रहेको अधिकृत फुयाँलले बताए ।

विमान उडान र अवतरणको सुरक्षाका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन ९आइकाओ०का मापदण्डअनुसार सो डाँडा ४० प्रतिशत कटान गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ । पर्यटकीय सहरका रुपमा स्थापित पोखरालाई हवाई सम्पर्कका माध्यमबाट विश्वका अन्य सहरसँग सिधा सम्पर्क कायम गर्न चार दशकअघिनै विमानस्थल बनाउने योजना अघि सारिएको थियो । लामो समयअघिको योजना विसं २०७४ मा आएर मात्र काम सुरु भएको हो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।