पोखरा, चैत १२
नेपाल विकास समाजले साविक लेखनाथमा मधुमेह रोगबारे सचेतना जगाउँदै आएको छ । गैरराजनीतिक र गैरनाफामूलक संस्था नेपाल विकास समाजले साविक लेखनाथ नगरपालिका र हालको पोखरा महानगरपालिका वडा नम्बर २६ देखि ३३ सम्मका वडाहरुमा मधुमेह रोगबारे सचेतना जगाउने काम गरिरहेको हो ।
समाजले मधुमेह के हो र यसबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा स्थानियको घर÷गाउँमै पुगेर सचेतना जगाउने गरेको समाजका कार्यक्रम संयोजक पवित्रमणी सोतीले जानकारी दिए । उनका अनुसार मधुमेह तीन फरक उमेर समूहलाई हुने गर्छ । वंशाणुगत मधुमेह ८ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई हुने गर्छ । त्यस्तै उमेर बढ्दै गएपछि हुने मधुमेह प्रायः ४० वर्षपछि र गर्भवती महिलालाई पहिलो तीनदेखि ६ महिनाको बिचमा हुनेगर्छ ।
सोतीका अनुसार मधुमेह व्यक्तिको आनीबानी र व्यवहारका कारण हुने गर्छ । मधुमेह बुढ्यौलीपन, खानपिनमा लापरवाही,, विलाशी जीवनशैली, मानसिक तनाव आदिका कारण हुने गर्छ । गुलियो, नुनिलो खानेकुरा खानु, चिल्लो, बोसोयुक्त खानपिन र अत्यधिक कार्बोहाइड्रेडयुक्त खानेकुरा खाँदा मोटोपन हुने र सोहिकारण मधुमेहका रोगी बढिरहेको उनले बताए ।
मधुमेह लागेका व्यक्तिहरुलाई बारम्बार पिसाब लाग्ने, मुख सुख्खा हुने, बढी तिर्खा लाग्ने, थकान बढी लाग्नु, शरीर कमजोर हुने, जति खाएपनि शरीर दुब्लाउँदै जानु, भोक लागिरहनु, बारम्बार घाउखटिरा आउनु र समयमा निको नहुनु, गुप्ताङ्ग चिलाउनु, दृष्टि धमिलो हुनु, हातगोडा झमझमाउनुलगायतका लक्षण् देखिने सोतीले जानकारी दिए ।
नेपाल विकास समाजले लेखनाथ क्षेत्रलाई आधार बनाएर मधुमेहलगायतका नसर्ने रोगहरुबाट बच्न पूर्व प्राथमिक सावधानी अन्तर्गत विद्यार्थी जीवनकालमै शिक्षा दिने, प्राथमिक सावधानी अन्तर्गत सम्भावित जोखिमबारे स्वास्थ्य प्रवद्र्धन गर्ने, तेश्रो चरणमा सम्भावित जोखिमयुक्त वर्गलाई स्वास्थ्य जाँच गराउनेदेखि शारिरिक अभ्यासलगायतका क्रियाकलापमा सहभागि गराउने र अन्तिम चरणमा रोग लागिसकेकालाई पक्षघात, मस्तिष्कघातलगायतका सम्भावित जोखिमबाट जोगाउन नियमित औषधी सेवनका लागि अभिप्रेरित गर्नका लागि सचेतना जगाउने काम गरिरहेको उनले बताए । सचेतना जगाउनका लागि विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी र स्वयम्सेविकाहरुलाई तालिम दिनेदेखि मधुमेह जाँच्ने उपकरणसम्म दिइएको सोतीले जानकारी दिए ।
विश्वमा मधुमेहबाट ५३ करोड ७० लाख मानिस प्रभावित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उसले सन २०३० सम्ममा यो संख्या बढेर ६४ करोड ३० लाख पुग्ने प्रक्षेपण गरेको सोतीले जानकारी दिए । नेपालमा ९ लाख बढी मधुमेहका रोगी रहेको अनुमान गरिएको उनको भनाई छ । समाजले गरेको सर्भेक्षणमा लेखनाथमा २५ देखि ६४ वर्षको उमेर समूहमा ११ं७ प्रतिशतमा मधुमेहको समस्या पाइएको सोतीले बताए ।
नेपाल विकास समाजले मधुमेहसँगै उच्च रक्तचाप, दीर्घदम, पाठेघरको मुखको क्यान्सर, फोहोर ब्यबस्थापनलगायतको क्षेत्रमापनि काम गर्दै आएको सोतीले जानकारी दिए । त्यस्तै, कोभिडको समयमा रुपा गाउँपालिकामा हेल्मेट डाक्टर कार्यक्रम सञ्चालन गरिएको उनले बताए । जस अन्तर्गत चिकित्सकसहितको स्वास्थ्य सेवा घरघरमै पुगेर दिइएको थियो भने विरामीलाई आवश्यक औषधीसमेत घरमै पु¥याएर निःशुल्क सेवा दिइएको उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,साउन १४जापानको आइची नागोया सहरमा आयोजना हुने २० औँ एसियाली खेलकुदका सहभागी…





