गण्डकीमा चैत २५ गतेदेखि टाइफाइडबिरुद्धको खोप निःशुल्क लगाइने


     एभरेस्ट आवाज    
     चैत्र १३ गते २०७८ मा प्रकाशित




पोखरा, चैत १४

गण्डकी प्रदेशमा चैत अन्तिम साताबाट टाइफाइडबिरुद्धको खोप लगाइने भएको छ । बहुवर्षिय खोप कार्ययोजना २०१७–२१ को लक्ष्य अनुरुप यहि चैत चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म गण्डकी प्रदेशमा टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको हो ।

प्रदेशमा पहिलोपटक सञ्चालन गर्न लागिएको टाइफाइडबिरुद्धको खोप १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने जनाइएको छ । अभियान अन्तर्गत करीब २२ दिनमा गण्डकी प्रदेशका ५ लाख ६० हजार २ सय २७ बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले जानकारी दिए । खोप साविकको गाविसको प्रत्येक वडामा रहेका विद्यालयहरुमा लगाउने व्यवस्था गरिने उनले बताए । ‘प्रत्येक विद्यालय, वडा कार्यालय र आवश्यक परे स्वास्थ्य संस्थामापनि खोप लगाउने व्यवस्था गर्छौं’–उनले भने ।

खोप सञ्चालन गर्न स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै जिल्लाका अधिकारीहरुलाई तालिम र सुक्ष्म योजना गराइसकेको जनाएको छ । खोप र खोपसँग आवश्यक पर्ने सामग्रीहरु केन्द्रबाट प्रदेशमा चैत २० गतेसम्ममा आइपुग्ने र जिल्लामा चैत २१ देखि २३ गतेसम्ममा पु¥याइसकिने प्रदेश स्वास्थ्य निर्देशक खड्काले बताए ।

टाइफाइड खोपको प्रभावकारीता ९६.९७ प्रतिशत रहेको दाबी गरिएको छ । यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउनलेलगायतका लक्षण देखिएपनि जटिल प्रकारको समस्या नआउने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य सामग्री आपूर्ति व्यवस्थापन विभागका निर्देशक डा.रोसन न्यौपानेले बताए । प्रति लाखमा एक जनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधीकोसमेत व्यवस्था गरिने उनको भनाई छ । उनले टाइफाइड रोकथामका लागि खोप प्रभावकारी हुने विश्वास व्यक्त गरे । ‘तर भ्याक्सिन लगाइएको छ भनेर मात्र पुग्दैन । भ्याक्सिनसँगै सरसफाईपनि ध्यान दिनुपर्छ’–उनले भने ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार टाइफाइडबाट विश्वमा हरेक वर्ष २ करोड मानिस विरामी हुने गरेका छन् । त्यसमध्ये करीब १ लाख ६१ हजार जनाले ज्यान गुमाउने गरेका छन् । नेपालमा भने प्रति १ लाखमा १ हजार ६२ जनामा टाइफाइडको संक्रमण दर रहेको छ भने १५ वर्ष मुनिका बालबालिकामा प्रति १ लाखमा १० हजार ९ सय ६० संक्रमण दर रहेको छ । नेपालमा वर्षेनी ४ लाख ५० हजार मानिस यसबाट विरामी हुने गरेका छन् । नेपालमा प्रति लाखमा ९ सय जनाले ज्यान गुमाउने गरेको बताइन्छ । गण्डकी प्रदेशमा भने टाइफाइडका कारण प्रति वर्ष कति विरामी हुन्छ भन्ने तथ्याङ्क छैन । तर उपचारका लागि अस्पताल आउने विरामी मध्ये हरेक चार जनामा एक जना अर्थात एक चौथाई विरामी टाइफाइडका विरामी हुने गरेको डा.न्यौपानेले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।