तनहुँ । तनहुँको भीमाद नगरपालिका–३ स्थित बुडुवाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत पक्की पुल निर्माण सम्पन्न भएको हो । विसं २०७७ पुस १३ गतेदेखि पुल निर्माणको काम सुरु भएको थियो ।
पुल निर्माणका लागि विसं २०७७ साउन २८ गते गणेश कुण्ड निर्माण सेवा नुवाकोटसँग सम्झौता भएको थियो । रु दुई करोड पाँच लाख ५७ हजार १४४ को लागतमा पुल निर्माणको काम सकिएको भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले जानकारी दिए । १९।८ मिटर लामो पुलको चौडाइ छ मिटर रहेको छ । उक्त ठाउँमा पुल नहुँदा वर्षायाममा सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो ।
पुल निर्माणपछि यस भेगका बासिन्दालाई वारपारमा सहयोग भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष पदम ठकुरीले बताए । वर्षाका बेला यो खेला निकै ठूलो हुन्छ । खोला तर्न हालिएका फड्के पनि बगाउँदा स्थानीयवासी मर्कामा पर्दै आएका थिए । विद्यालय जाने विद्यार्थी, घाँस दाउरा र मेलामात गर्ने स्थानीयवासीलाई खोला तर्न समस्या हुँदै आएको थियो ।
वर्षौँदेखि मोटरेबल पुल बनाउन आवाज उठाउँदै आएका यहाँ स्थानीयवासीको माग गण्डकी प्रदेश सरकारले सम्बोधन गरिदिएको छ । वडाध्यक्ष भूपेन्द्रराज मल्लले यहाँ बनेको पुलले स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरे। बाटो बने पनि पुल नहुँदा सवारी आउजाउमा समस्या भइरहेको बताउँदै पुल बनेपछि विकास र स्थायित्वको आवश्यकता पुष्टि भएको उनले बताए ।
यसैबीच तनहुँको आँबुखैरेनी गाउँपालिका–२ को भवन निर्माण सुरु भएको छ । जनप्रतिनिधिको कार्यकाल सकिने अन्तिम चरणमा रहेका बेला बल्ल वडा कार्यालय भवन निर्माण सुरु भएको हो । उक्त भवनको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले शिलान्यास गरेका छन् । सो अवसरमा थापाले वडा कार्यालयको भवन नहुँदा सेवा प्रवाहमा असहजता भइरहेपनि भवन निर्माणपछि सहज हुने बताए ।
गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र अन्य वडा कार्यालयको भवन निर्माण सम्पन्न गरिसकिएको उनले बताए । रु एक करोड २२ लाख ६४ हजार ५५६ को लागतमा वडा कार्यालय भवन निर्माण हुन लागेको हो ।
विसं २०७९ फागुनसम्म भवन निर्माण सम्पन्न गर्ने गरी भक्तपुरस्थित मायादेवी कन्स्ट्रक्शनले जिम्मा पाएको छ । दुई तलाको भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहज हुने वडाध्यक्ष कटकहादुर थापाले बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







