मधुमेहका विरामीको स्वास्थ्य जाँच गर्दै स्वास्थ्य स्वयमसेविका
पोखरा, चैत १५
कास्कीको लेखनाथ क्षेत्रमा मधुमेहका विरामी घट्न थालेका छन् । स्थानियमा आएको सचेतना, शारिरिक अभ्यास र औषधी सेवनका कारण साविक लेखनाथ क्षेत्रमा मधुमेहका विरामीहरु घट्दै गएका हुन् । साविक लेखनाथ क्षेत्रमा पर्ने पोखरा महानगरपालिका वडा नम्बर २६ देखि ३३ सम्मका स्थानिय बासिन्दामा गरिएको नमूना सर्भेक्षणमा पछिल्लो समय तुलनात्मक रुपमा मधुमेहका विरामी घट्दै गएको पाइएको सर्भेक्षणकर्ता नेपाल विकास समाजका कार्यक्रम प्रमुख पवित्रबाबु सोतीले जानकारी दिए ।
समाजले हरेक तीन÷तीन वर्षमा मधुमेहका विरामीबारे सर्भेक्षण गरेको थियो । समाजले पहिलो पटक २०१५, दोश्रो पटक २०१८ र तेश्रो पटक २०२१ मा सर्भेक्षण गरेको थियो । उक्त सर्भेक्षणमा पहिलो पटक गरेको सर्भेक्षणमा भन्दा दोश्रो पटकको सर्भेक्षणमा मधुमेहका विरामी बढेको देखिएपनि पछिल्लो पटक गरिएको तेश्रो सर्भेक्षणमा विरामीको संख्या घट्दै गएको पाइएको सोतीले दाबी गरे । उनका अनुसार पहिलोपटक २४ वर्षदेखि ६५ वर्षको उमेर समूहमा गरिएको सर्भेक्षणमा ११.७ प्रतिशतमा मधुमेहका विरामी भेटिएका थिए । तत्कालीन समयमा २३ सय जना भन्दा बढी मानिसमा गरिएको परीक्षणमा उक्त संख्यामा विरामी भेटिएपछि समाजले सचेतना जगाउने, औषधी, उपचारलगायतका क्रियाकलाप शुरु गरेको थियो ।

समाजले सन २०१८ मा ३ सय जनामा दोश्रो पटक सर्भेक्षण गर्दा १७.७ प्रतिशतमा मधुमेहको समस्या पाइएको थियो । त्यसबेला हालको वडा नम्बर २६ मा ११.९ प्रतिशत, वडा नम्बर २७ मा २४.३९ प्रतिशत, वडा नम्बर २८ मा २०.७ प्रतिशत, वडा नम्बर २९ मा १५.८ प्रतिशत, वडा नम्बर ३० मा १६.७ प्रतिशत, वडा नम्बर ३१ मा ७.९ प्रतिशत, वडा नम्बर ३२ मा १८.४ प्रतिशत र वडा नम्बर ३३ मा २६.३ प्रतिशतमा समस्या देखिएको थियो ।
तर सन २०२१ मा गरिएको पछिल्लो सर्भेक्षणमा झण्डै ४ प्रतिशतले मधुमेहका विरामी घटेको पाइएको सोतीले जानकारी दिए । उनका अनुसार सन २०२१ मा गरिएको सर्भेक्षणमा १३.२ प्रतिशतमा मात्रै मधुमेहको समस्या देखिएको थियो । उक्त रिपोर्ट अनुसार साविक लेखनाथ मध्ये वडा नम्बर ३२ मा सबैभन्दा धेरै १७.८ प्रतिशतमा मधुमेहका विरामी भेटिएका थिए भने सबैभन्दा कम वडा नम्बर २८ मा मधुमेहका विरामी नै भेटिएन । त्यस्तै, वडा नम्बर २६ मा १०.८ प्रतिशत, वडा नम्बर २७ मा १५.२ प्रतिशत, वडा नम्बर २९ मा १०.७ प्रतिशत, वडा नम्बर ३० मा १७.१ प्रतिशत, वडा नम्बर ३१ म ८.८ प्रतिशत र वडा नम्बर ३३ मा १६.७ प्रतिशतमा मधुमेहका विरामी भेटिएका छन् ।
सर्भेक्षणमा बाक्लो बस्ती भएको सहरी क्षेत्रमा मधुमेहका विरामी धेरै भेटिएका छन् भने ग्रामिण तथा पातलो बस्तीमा कम भेटिएका छन् । ग्रामिण क्षेत्रका बासिन्दाहरु शारिरिक परीश्रम गर्ने भएकाले उनीहमा मधुमेहको समस्या कम हुने र सहरी क्षेत्रकाले परीश्रम कम गर्ने भएकाले मधुमेहको समस्या बढी हुने उनको भनाई छ ।
सर्भेक्षणमा एचबीएवानसी विधि प्रयोग गरिएको सोतीले बताए । यसले व्यक्तिको तीन महिनाको एभरेज रिपोर्ट दिने उनले दाबी गरे । अर्को विधिबाट गर्दा अघिल्लो दिन खाएको खानाको प्रभाव पर्ने भएकाले यो विधि अप्नाइएको उनको भनाई छ । ‘यो विधि विश्वासिलो, भरपर्दो र अथन्टिक छ’–उनले भने ।
शुरुवाती चरणमा परीक्षण गर्दा संख्या कम थियो । त्यसपछि स्वास्थ्य परीक्षण गर्नेको संख्या बढ्यो । विरामीको संख्या बढेपछि समाजले निरन्तर मधुमेहसम्बन्धी सचेतजना जगाउने काम ग¥यो । शुरुमा मधुमेह रोग भयंकर मानेर मानिसहरु परीक्षण गर्न डराउँथे । सचेतना जगाउँदै गएपछि मानिसहरुले यो रोगलाई सामान्य रुपमा लिन थाले । जसका कारण उनीहरु परीक्षण गर्ने, औषधी सेवन गर्ने, शारिरिक अभ्यास गर्नेलगायत नियमित गर्न थाले । यसले गर्दा मधुमेहका विरामीको संख्या घटेको सोतीको भनाई छ । उनका अनुसार नेपाल विकास समाजले स्वास्थ्यकर्मीलाई तालिम दिएर प्रेसर, सुगर जाँच्न पोख्त बनयो । सोहि जनशक्तिले घर÷घरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने, औषधी वितरण गर्ने, शारिरीक अभ्यास गर्नलाई प्रोत्साहित गर्नेलगायतका काम गरे ।
पोखरा महानगरपालिका वडा नम्बर ३३ की स्वास्थ्यकर्मी पवित्रा आचार्यपनि मधुमेहका विरामी घट्दै गएको स्वीकार्छिन् । भन्छिन्,‘पहिलेको तुलनामा सचेतना बढेको छ । शारिरिक अभ्यासदेखि औषधी सेवन पनि नियमित गर्छन् । यसको प्रभाव स्वरुप मधुमेहका विरामी घटेका छन् ।’ उनले नियमित परीक्षणमा विरामी भेटिए औषधी सेवन गराउनेदेखि सचेतना र शारिरिक अभ्यासबारे जानकारी गराउने काम आफूहरुले गर्नेगरेको बताईन् ।
पचभैया सहरी स्वास्थ्य केन्द्रकी स्वास्थ्य स्वयम्सेविका प्रिती गुरुङपनि स्थानियमा जनचेतना पुगेपछि विरामी घटेको बताउँछिन् । ‘नियमित स्वास्थ्य जाँच, खानपान, आनीबानीमा परिवर्तन, शारिरिक अभ्याससँगै विरामीले औषधी सेवन गर्दा मधुमेहका विरामी घटे’–उनले भनिन् ।
पोखरा महानगरपालिका वडा नम्बर ३३ को भरतपोखरी स्वास्थ्य सेवा केन्द्रकी स्वयमसेविका पवित्रा आचार्यपनि मधुमेहका विरामी घटेको तथ्यले पुष्टि गरेको दाबी गर्छिन् । उनले थपिन्,‘घर÷घरमा पुगेर मधुमेहको बारेमा जानकारी गराउने, रोग लाग्न नदिन र लागेपछि त्यसको उपचारसँगै आनीबानी परिवर्तन, शारिरिक अभ्यासलगायतका स्वस्थ जीवनशैली अप्नाउनका लागि प्रेरित गरेपछि संख्या घट्दै गएको छ ।’
नेपाल विकास समाजका कार्यक्रम प्रमुख पवित्रबाबु सोती स्वस्थ जीवनशैली अप्नाउने हो भने मधुमेह रोग नलाग्ने बताउँछन् । नियमित स्वास्थ्य जाँच, खानपान, आनीबानीमा सुधार, नियमित अभ्यास गर्ने हो भने मधुमेह सामान्य रोग भएको उनको भनाई छ । तर हेलचेक्राईं गर्ने, आनीबानीमा सुधार नगर्ने हो भने यसले गम्भीर क्षेतिसमेत गर्ने उनले बताए । ‘जीवनशैली सुधार्ने हो भने यो सामान्य रोग हो । तर पुरानै शैली अप्नाउने, खानपानमा ध्यान नदिने र शारिरिक अभ्यास नगर्ने हो भने यसले शरिरका महत्वपूर्ण अंगहरुमा गम्भीर क्षेतिपनि पुर्याउन सक्छ’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







