कविता घर्तीमगर
कास्की । ए ! फलानोको छोरी गीता (नाम परिवर्तित)ले त प्रतिक (नाम परिवर्तित)संग विवाह गरेछ नी भन्दै कसैले गाउँको ताजा खवर छुस्स सुनायो, सुन्ने वित्तिकै मनमा लौ ! कति सानो उमेरमा विवाह गरेछन् त ! भन्ने लाग्यो । त्यो नानी त बल्ल १५ बर्षकै हारहारीमा छिन होला त अनि केटा त अलि जेठो नै होला,कति बर्षको रहेछ ? खै, भयो होला नी २० बर्ष तर, वास्तवमा केटाको उमेरपनि १७ बर्षको नै रहेछ । कस्तो सानै उमेरमा पो विवाह गरेछन् पढ्ने,हास्ने खेल्ने उमेरमा ? यस्तै यस्तै संवाद भए खवर सुनाउने गाउँको आफन्तसंग ।
त्यस्तैमा २ महिना बित्यो, केहि समय अफिसबाट विदा लिएर म घर गए,तिजको माहोल थियो,कोरोना भाईरसको महामारीको दोस्रो लहर चलेका कारण प्रशासनबाट टोलछिमेक वा बाटो,सभा समारोहमा मान्छेको जमघटमा निषेध गरिएको थियो । घरबाट छिमेकीको आँगनमा ठुलै स्पिकरमा संगित गुन्जामय भयो,साडी लगाएर त्यहि गाउँको खवर सुनाउने आफन्त नाँचिरहेको देखे, अनि म पनि गए भेटघाट र रमाईलो गर्ने रहर बोकेर ।
दुई चार जना भाउजु र आफन्तहरु नाचिरहनु भएको थियो, म ताली ठोकिरहेकी थिए ,संयोगले त्यहिबेला कतैबाट किशोरीहरुको पनि हुल आयो, त्यहि हुलमा देखे उनै गीतालाई । एकैचोटी नाँचिरहेको भिडमा आएर एकतमासले खुल्ला पंछी जस्तै रमाउन थाल्यो त्यो भिड,मेरो ध्यान उनै वालदुलही गीता माथी केन्द्रित भए र नियाल्न थाले उपस्थित माहोलको उनी प्रतिको हाउभाउ ।
हुन त हामी सबै जना रमाईलो गर्न जमघट भएका थियौ तर म भने रमाईलोसंगै परिस्थिती पनि नियाल्दै गए । गीता आफ्नै उमेरका साथीहरुसंग एकतमासले नाँचिरहिन् यता उमेर पुगेका पाका महिलाहरुको भिडमा गए एक पक्षले भन्दै थिए, “सानो उमेरमा गरेको विवाह त यस्तै त होनी, विचरी आफ्नो उमेरको साथीहरु रमाईलो गर्दा उसलाई पनि त गर्न मन लाग्दो हो गरोस विचरा बच्चै छ”, भन्दै विचराको संज्ञा दिदै थिए,अर्काे थरि भन्दै थिए, “ओई ओई हेर त प्रतिकको बुढी गीता, बुहारी भएर पनि के त्यसरी उफ्रेकी कन्या(अविवाहित किशोरी)हरुसंग,यसरी रमाईलो गर्ने मन भए किन विवाह गरिछे पोई खोज्दै ?, “यो समाजमा महिला विग्रेको त्यसै होईन गाठे अहिल्यैबाट यस्तो गर्नेले पछि त यसले अर्कै विवाह गर्छे ।”
मेरो मनमा खुलदुल भयो, ओहो ! के विवाहपछि महिलाले सार्वजनिक स्थानमा सभ्य र उमेरअनुसारको रमाईलो गर्न नमिल्ने हो ? महिलाले आफुले भोगेका प्रत्येक अवस्थाका महसुस्हरु भुल्दै गएर हो या सामाजिक रितिरिवाजको प्रभावले हो एउटा नाबालिकाको कै विपक्षमा महिला नै खडा ? सोचे वालविवाह नै भएपनि उमेर नपुगेका किशोरीहरुलाई विहे गरेर गएको समाजले उसको मनोभाव,उसको आवश्यकता,उसको अधिकार र कर्तव्य,मायाममता प्रदान त्यहि अनुसारको वाताबरण सिर्जना गरिदिने हो भने वालविवाहलाई सायद वालविवाह भनिदैनथ्यो होला तर अफसोच समाज त्यसको ठ्याक्कै उल्टो छ ।
त्यो भिडले उपस्थित अरुलाई बेवास्ता गरि तिनै नव बालदुलहप्रति केन्द्रित भएर अभिव्यक्ति र हाउभाउ प्रदर्शन गरे । विवाहित किशोरीहरुको हकमा या त परिवक्व विवाह होस या वालविवाह, विवाहित त विवाहित नै हो सकियो बस्, परम्परागत र सामाजिक सोचले छ्यापिहाल्यो ।
एकैछिनको उफ्राईपछि उनी कुनामा गएर बसिन् , कारण थियो त्यहाँ उपस्थित माहोलले उनप्रतिको हाउभाउ प्रदर्शन गर्नु, सोही दृष्यले उनीमा असहज पैदा भयो सायद, उनले म विवाहित हु भन्दै महसुस गरिन् या के त्यो उनि आफै जानुन् तर उनले नाँच्न छाडिन र एक अपराधीले झै रातो न पिरो हुदै एक कुनामा बसिन् । त्यहाँ माहोल वालमनोभाव र विवाहित परिधिले बाँधेको कुसंस्कार दुई विषयमा नियाले ।
दुवै जना कक्षा ८ मा पढ्दा पढ्दै प्रेम विवाह भएपछि गीता र प्रतिक दुवैले विद्यालय जान छाडे, अहिले घर धन्दा र मेलापातमा कलिलो हातगोडा र नंंग्रासहित वालमस्तिष्क खियाईरहेका छन् । प्रतिकले विवाह गर्नु परेको बाध्यताका वित्र्तान्त यसरी सुनाए, “घरमा काम गर्ने मान्छे कोहि भएन,प्रेमिका थियो विवाह गर्ने सल्लाह गरेउ, अनि विवाह गरेउ,स्कुलपनि छोड्यौ,अहिले दुवै जना घरको काम धन्दामै बेस्त छौ” उनले भने “वालविवाह गर्नु हुदैन भन्ने पनि थाहा थियो तर घरको परिस्थिती र मायाको अगाडी त्यो कुरा केहि पनि सोचेनौ तर अहिले हामी खुसि नै छौ, अव यसरी नै दुखसुख जिण्दगी कटाउने हो ।”
त्यसो त केटी पक्षको फुपु वडा सदस्य हुन् ,वालविवाह सम्बन्धि धेरथोर ज्ञान अवश्य पनि छ तर, भविश्य के हुन्छ भन्ने यकिन नगरी विवाह गरेका उनिहरुलाई कानुनको घेरामा ल्याउदा झनै विकराल अवस्था आउछ भन्ने डरले सचेत मात्रै गराउन बाध्य भएको सुनाईन् ।
दुईचार दिन गाउँमै बरालिदै थिए, एकदिन अचानक दलित समुदायकी दुधे बच्चा च्यापेकी गीताकै उमेर समानकी रत्न नाम परिवर्तित विकसंग भेट भयो । कसको बच्चा भनेर प्रश्न खस्न नपाउदै मेरो बच्चा भनिन्,आहो ! तिमीले अहिले मानसिक,शारीरीक तथा सामाजिक केहि समस्या भोगिरहेकी छौ की ? भन्ने प्रश्नमा के हो त्यो ? भन्दै उल्तै मलाई प्रश्न गरिन् । वालविवाह सम्बन्धि कानुन र महिलाको शारीरीक प्रजनन सम्बन्धि बताउदा उनले आफु अनविज्ञ भएको बताईन् ।
उनले भनिन्, “गाउँमा म मात्रै होईन,सबैले सानै उमेरमा विवाह गरेका छौ । छरछिमेकीको यस्तो खालको प्रचलनले गर्दापनि मैले पनि गरेको हो । कलिलै उमेरमा प्रेम विवाह भयो, आफ्नो दौतरी खुसिले हिड्दा आफु भने घरपरिवारको बाध्यता र बच्चाको जिम्मेवारी सम्हालेर हिड्दा किन विवाह गरेछु भनेर निकै पछुतो लाग्छ, तर बच्चाको मुख हेर्दा त्यो खिन्नता हराउछ हिहि मुस्कुराईन्” ।
दलित र जनजातिको बाहुल्यता भएको बागलुङको निसीखोला गाउँपालिका वडा नं. ५ र ६ हुन् । बालविवाह गर्नेहरुको कानुनी रुपमा विवाहदर्ता नहुने भएकोले वडा कार्यलयमा यकिन तथ्यांक नभएपछि जानकारीमा आएसम्म ५ नं. वडामा यो वर्ष करिव ९ र १० जोडिले बालविवाह गरेका छन् भने वडा नं. ६ मा ६ जोडीले विहे गरेका थिए ।
वडा नं. ६ मा ६ जोडीको विवाह मध्य ३ जोडीलाई छुटाएर आआफ्नो अभिभावकको संरक्षणमा स्कुल पढ्ने लगाईएको छ भने बाँकी ३ जोडीले आफुहरुलाई छुटाएपछि आत्महत्या गर्ने चेतावनी दिएकोले त्यतिकै छोडिएको उक्त वडाका वडाध्यक्ष सुर्य बहादुर बुढामगरले बताए ।
उनका अनुसार कानुनमा निर्धारण गरिएका नियमहरु एकातिर पहिलेदेखि चलिआएको चलन अर्काेतिर भएकोले समाज परिवर्तन हुन केहि कठिनाईहरु भएपनि विस्तारै समाधान हुदै जानेछ । विगतमा बालविवाह गरेर अहिले पछुतो लाग्ने गरेको वडा नं. ५ कै भारत सुनार सुनाउछन् । उनले भने, “बाआमा भारतमा, अध्ययनको लागि म एक्लै गाउँमा बस्थे,एक्लोपनले साह्रै सताउने, पछि साईनो मिल्ने गाँउकै केटीसंग विवाह गरे,त्यो बेला उमेरपनि त्यस्तै हुने । त्यो बेला केटी कक्षा ३ मा, म कक्षा ५ मा अध्ययन गर्थाै,हाम्रो उमेर पनि १३ र १४ कै हारहारीमा थियो ,पछि समय वित्दै गयो, सम्बन्धमा उत्तरचढाव आयो ।
उनले थपे, “अहिले बुझ्दा महसुस गर्छु खास विहे गर्ने उमेर त बल्ल रहेछ,नचाहदा नचाहदै पनि अहिलेको समयमा आउदा जिण्दगीमा दुई पटक विहे गरियो ।” विगत सम्झिदै उनले आफ्नो भोगाई सुनाए,“हामी दुवैजना नाबालक,विहे गरेपछि के कुरामा झगडा हुन्थ्यो भने चाउचाउ नकिनिदिएर,कहिले छिमेकीको घरमा खेल्न गयो भनेर,अरुसंग बोल्यो अव त मलाई माया गर्दैन भनेर शंकालु झगडा हुन्थ्यो,आजकाल त्यो दिन सम्झदा हासो उठ्छ, हा हा हा हासोका फोहरा छोडे ।”
व्यवहारिक उमेरमा आएपछि पछिल्लो श्रीमतीसंग बल्ल घरव्यवहार र परिस्थितीहरु दुखै परेपनि एकअर्काको सल्लाह र सहकार्यले निरन्तर अगाडी बढिरहेको उनले सुनाए । चन्चले उमेरमा आफुले गरेका त्यस्ता परिस्थिती अवको पुस्ताले नदोहोर्याउन भन्ने उनको धारणा छ । बालविवाह गर्ने वा गराउनेहरुलाइ सम्बन्धित निकायले सम्झाएर छोड्ने भन्दा पनि एकदुई जनालाई कानुनी दायरामै लिने गरेमा त्यसले त्यसले प्रभावकारी परिवर्तन हुन सक्ने उनको दावी छ । उक्त वडा कै एकजना बालिका पनि १४ बर्षकै उमेरमा विहे गरेर पढाई छोडिन् ,१६ बर्षको उमेरमा लाग्दा श्रीमानसंग अलग भईन्, अहिले विद्यालय भर्ना भएर पढाईलाई निरन्तरता दिदै छिन् । यी सवै अपरिवक्व निर्णयले निम्त्याएको समस्या हो ।
यता वडा नं. ५ का वडाध्यक्ष हर्कमन घर्तीमगरका अनुसार आफ्नो वडामा बालविवाह भएको जानकारी भएपनि सम्झाउने बाहेक केहि कदम चाल्न नसकिएको स्विकारे । उनले भने,“उमेर नपुग्दै विहे गरेको थाहा पाएर सम्झाउन गयो उल्टै अव तिमीहरुले नै जिम्मा लेओ बुढाबुढीलाई भन्दै अभिभावक नै आक्रोसित हुन्छन्, यता प्रेम विवाह गरेका विवाहित नवजोडिले आत्महत्या गर्छौ भन्दै चेतावनी दिन्छन्, हामी त सचेत गराउन बाहेक केहि गर्न सकिरहेका छैनौ ।”
त्यसैगरि दलित र ब्राहमणक्षेत्रि तथा फाटफुट रुपमा जनजातिको जनसंख्या रहेको वडा नं. २ मा कहिकतै बालविवाह गरेको भन्ने सुनियो तर खास्सै समस्या नभएको वडाध्यक्ष कुमविर विश्वकर्माले बताउछन् । समग्रमा हेर्दा स्थानिय सरकार पनि बालविवाह रोक्न सचेतना कार्यक्रममै केन्द्रित रहेको पाउन सकिन्छ ।
उता बालविवाह रोकथाममा डटेरै महत्वपुर्ण भुमिका खेलेका बागलुङकै तमानखोला गाउँपालिकाका प्रमुख जोक लाल बुढामगरले भने निकै सह्रानिय परिवर्तन ल्याउन कोसिस गरेका छन् । गाँउपालिका प्रमुख भएपछि उनले आफ्नो समाजमा बालविवाह उन्मुलनका लागि जागरण अभियान नै सञ्चालन गरे । उनका अनुसार गाँउपालिकाले बालविवाह किन गर्नुहुदैन,गरेमा भविश्यमा आईपर्ने समस्या केके हुनसक्छ लगाएतका विषयमा भिडियो डमुमेन्टि,सडक नाटक, विद्यालय तथा अभिभावक विचमा सचेतना कार्यक्रम,सरोकारवालाहरुविच समयसमयमा अन्तकृया लगाएतका प्रयासहरुले बालविवाह शुन्य स्तरमै निर्मुल नभएपनि समुदाय सचेत भएका छन् ।
गापा अध्यक्ष बुढामगरले भने,“सुरुमा त अति नै गाह्रो भयो बालविवाह गरेका ठाउँमा सम्झाउन जादा अभिभावकहरु हामीसंग झम्टिने,गाली गलौज गर्ने गरे, तर गाउँपालिकाले निरन्तर सचेत बनाउने कोसिस गरिरह्यो,बालविवाह गर्न लागेको वा गराउन लागेका अभिभावकहरुलाई त्यहि डकुमेन्ट्रि भिडियोहरु देखाउने गरेउ भिडियो हेरिसकेपछि विवाह रोकेका प्रशंगहरुपनि छन् हामीसंग, उनले भने”।
यो समस्या जरैदेखि निर्मुल पार्न नसकिएपनि पहिलेको तुलनामा केहि कम भएको छ” उनले भने, “दर्जन भन्दा बढी बालविवाह रोक्ने र अलग बनाएर अभिभावकको जिम्मा लगाएका छौ,गाउँपालिकाको तर्फबाट जनतालाई जनचेतना अभियान सञ्चालन गर्ने कुरामा कुनै कमि रहेको छैन निरन्तर अभियान जारी रहेको छ,अहिले केहि कमि भएको महसुस गरेका छौ र काहिकतै बालविवाह भएको थाहा पाएमा गापामा खवर गर्न अनुरोध समेत गरिएको छ ।”
यी समस्या त मेरो छिमेक र जिल्लाभित्र भेटिएका प्रतिनिधि घटना मात्रै हुन् । तर गाउँघर वा शहर जतासुकै कानुनले तोकेको उमेर हदभन्दा कम उमेरमा विवाह गर्ने चलन अझै कायमै छ । नेपालको पश्चिम र तराई क्षेत्र बढी बालविवाह,महिला हिंशा,जवरजस्ती विवाह तथा करणीका समस्या रहेको पाईन्छ । नेपालका यी क्षेत्र मात्रै होईन बौद्धिक समाजको कल्पना गरिएको पुर्वी नेपालका अधिकांस स्थानमा पनि कानुन बन्देज परम्परागत सोच र गतिविधिहरु सोचे अनुसार परिवर्तन नभएको ज्योति मावि हरगडा ५,इटहरीका शिक्षक पदम आले मगर बताउछन् ।
उनले भने, “१० वर्ष पहिले म स्कुले अवस्थामा हुदा महिला प्रजनन्का विषयमा पढाई हुदा केटी सहपाठीहरु संगै हुने भएकोले असहज महसुस् हुन्थ्यो,अहिले मैले पढाउने अवस्थासम्म आईपुग्दा ५० प्रतिशत विद्यार्थीहरुले मात्रै सहजता लिएको अवस्था छ ।” उनी थप्छन् , “यसले के देखाउछ भने हाम्रो समाज अझै पनि खुल्न सकेको छैन्,यस्ता विषयमा आधारभुत ज्ञान भएपनि त्यहि पुरानै सोचबाट अछुतो छैन समाज भन्ने जनाउछ ।”
वालविवाह,जवरजस्ती करणी तथा विवाह,महिला हिंशा,दाईजो प्रथा,महिला प्रजनन् लगाएत यस्ता संवेदनशिल विषयहरु गाउँटोल तथा विद्यालय स्तरबाटै सुसुचित गर्दै गयो भने विगतको भन्दा कमसेकम आउदो पुस्तामा यस्ता समस्या न्युनिकरण हुनेमा शिक्षक आलेमगर विश्वस्त छन् ।
चार गाउँपालिका तथा एक महानगरपालिका रहेको कास्की जिल्लामा पनि सरकारको अभियान अनुरुप बालविवाह न्युनिकरण भएको पाईदैन् । पोखरा महानगरभित्र पनि भित्रभित्रै बालविवाह गर्ने र गराउने त कति छन् कति तर बालविवाह दर्ता गर्ने कानुनी प्रावधान नभएकोले कार्यलयमा यकिन तथ्यांक छैन तर, जानकारीमा आएसम्म गत साल एक जोडी बालविवाह हुनबाट रोकेको बाहेक अरु घटना जानकारीमा नआएको बताइएको छ ।
यता रुपा गाउँपालिका भित्र पनि गत वर्ष बालविवाह गर्न तयार भएका एक जोडीलाई कानुनी प्रक्रिया अनुरुप रोकेपछि खास्सै समस्या नभएको गापा अध्यक्ष नवराज ओझा बताउछन् ।
बालविवाह भन्नाले कुनैपनि राष्ट्रको नीतिनियम तथा कानुनमा विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाह नै बालविवाह हो । युनिसेफ नेपालका अनुसार, सन् २०१६ मा नेपालमा १८ वर्ष मुनिका बालबालिकाको विवाह हुने दर ३० प्रतिशतको हाराहारीमा थियो । तर, पछिल्लो ५ वर्षमा बालविवाह हुने दर ५ प्रतिशतले घटेको छ ।
बाल विवाह उच्च रहेका मुलुकहरु मध्ये नेपाल अग्रपंक्तिमा रहेको छ । दक्षिण एसियामा नेपाल बङ्गलादेश र भारत पछि तेश्रो स्थानमा पर्दछ । बालकको तुलनामा संंख्यात्मक रूपमा बढी बालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको अध्ययनवाट देखिएको छ । सम्बन्धित निकायबाट बालविवाह रोक्न वा विवाहितलाई अलग गराउन कानुन् कार्यन्वयन लागु गर्दा वा सचेत मात्रै बनाउने दुवै कार्य चुनौति नै रहेको बताईन्छ ।
परम्परा र धार्मिक मान्यताले विक्षिप्त समाजमा अभिभावक नै बाधक बनेका हुन्छन् भने विवाहित प्रेम जोडीलाई अलग बनाउदा अपरिवक्व निर्णय गर्ने उमेरका उनीहरुले कुनै अप्रिय दुर्घटना निम्त्याए भने झन विकराल सामाजिक समस्या उत्पन्न होला भन्ने डर छ ।
स्थानिय सरकारको अभ्यासले केहि परिवर्तन नभएको त होईन तर,अझै बढी रचनात्मक ढंगबाट लाग्नुपर्ने आवश्यक भने देखिन्छ । समाज यहि अभ्यासबाट विस्तारै सचेत हुदै गएका छन् । बालविवाह सम्बन्धि बनेको कानुन् अभ्यासका रुपमा लागु गरिएको महसुस् गरिएको छ । यता सचेतना कार्यक्रमले मात्रै बालविवाह न्युनिकरणमा खस्सै सकरात्मक परिवर्तन ल्याउन नसकेको यथार्थ पक्कै छ,त्यसो भए अव के गर्ने त ?
यस्तो छ, बालविवाह गर्ने र गराउनेलाई कानुनी सजाय
नेपालको मूलुकी ऐनमा विवाहको लागि कानुनी उमेर १८ वर्ष तोकिएको छ । नेपालको संबैधानिक इतिहासमा हालै मात्र जारी भएको नेपालको संविधानले बाल विवाहलाई पहिलो पटक बालअधिकार हननको बिषयको रूपमा उल्लेख गरी दण्डनीय अपराधको रूपमा स्वीकार गरेको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्य तथा अधिवक्ता सरिता थापामगरका अनुसार मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद ११ को दफा १७३ को १, २ र ३ मा बालविवाह गर्नु÷गराउनु हुँदैन, गराएमा त्यस्तो विवाह स्वतःबदर हुने र बालविवाहको कसुर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।
सोहि नियम २०७५ भदौ १ गतेबाट लागु गरिएको छ । उनका अनुसार यो नियम २०७५ भदौ १ गते भन्दा पहिल्यै विहे गर्नेहरुमा लागु नहुने तर सोहि मिती सुरु भएयता बालविवाह गर्नेहरुको हकमा लागु भएको हो । बालविवाह प्रचलन र कानुन कार्यन्वयन अहिले जटिल अवस्थामा खडा भएको छ, १८ वर्ष अगावैको विवाह दर्ता कानुनले मान्यता नदिदा उनीहरुबाट जन्मिएको सन्तानको लागी कानुनी प्रकृया झन्झटिलो छ । यसले गर्दा बालविवाह सम्बन्धि कानुन अव्यवहारिक देखिएको छ ।
यसलाई संशोधन गर्न जरुरी छ ।” उनले थपिन्,“बालविवाहलाई कानुनी डायरामा ल्याउन नसक्नु र न्युनिकरण नहुनुमा अव्यवहारिक कानुन भएकोले हो ।”कानुन निर्माण गर्ने निकायले समाज अध्ययन नै नगरी नीतिनियम बनाउनु र सम्बन्धित निकायबाट समाजमा प्रभावकारी जनचेतना प्रवाह गर्न कन्जुसाँई गर्नाले यो समस्याले नघटेको उनले स्विकारिन् ।
यता संविधान सदस्य तथा नेकपा माओवादीका पुर्व गण्डकी प्रदेश कमिटी सदस्य तेजु पौड्यालले बालविवाह अन्त्य गर्नको लागि राम्रो कानुन बनेको जिकिर गरिन् । “बालविवाह अन्त्य गर्नको लागि सरकारले निकै राम्रो कानुन् बनाएको हो,” उनले भनिन् “सामान्यतय १६ बर्षबाट नै बालबालिकामा यौनपरिक्वता आएपनि १८ वर्ष पुरा गरेपछि मात्रै किशोरीले बच्चा जन्माउदा स्वास्थ्यको हिसावले राम्रो हुने डाक्टरहरुको रिपोर्ट र मानसिक रुपमा पनि १८ वर्ष पछिको अवस्था व्यहारिक ठहरिएको सामाजिक अध्ययन लगाएतका क्षेत्रबाट अनुसन्धान गरेर नै कानुन बनेको हो ।”
तर विभेदपुर्ण धार्मिक चिन्तन, बालविवाह गर्ने र गराउनेहरु विरुद्ध सरकार कडा रुपमा प्रस्तुत नहुनाले र ठाउँ अनुसारको समाजिक चेतना स्तरका कारणले समास्या सोचे अनुरुप समाधान नभएको उनले बताईन् । कतिपय कानुन्हरु परिक्षणको रुपमा निर्माण गरेर लागु गर्ने प्रयास गरिने भएकोले विभिन्न परिवेशका समाजिक अवस्था र समय अनुसार आवश्यक परेको खण्डमा परिमार्जन गर्दै जान सकिने पौड्यालले बताईन् । “
अवको दिनमा बालविवाह रोक्न समुदाय स्तरबाट नै प्रभावकारी पहल हुनुपर्छ,” उनले भनिन्, “बालविवाह गरिसकेकाहरुबाट जन्मेका सन्तानको कानुनी प्रकृया व्यवहारिक रुपमा अप्ठ्यारो भएकोले हामी बालविवाह सम्बन्धि कानुनी नीति र व्यवहारिक पक्षहरुविच कसरी प्रभावकारी बनाउन सकिन्छ छलफल गर्दै छौ । आशा छ,यसले बालविवाह रोक्न थप व्यवहारिक पक्षबाट सकरात्मक भुमिका खेल्ने छ ।”
मुलुकी देवानी संहिता, २०७४ पारिवारिक कानुनको परिच्छेद – १ बिवाह सम्बन्धी व्यवस्थाको दफा ७३ मा बिवाह बदर गर्न सक्ने अवस्था अन्तर्गतको उपदफा (२) मा “बिवाहको परिणाम स्वरुप कुनै महिला गर्भवती भएमा वा निजबाट शिशु जन्मिएमा निजको मन्जुरी भएमा मात्र त्यस्ता बिवाह बदर हुन्छ नत्र जे जुन उमेरको केटा–केटी भए पनि बिवाह सदर भई कानुनी मान्यता पाउने देखिन्छ । नेपालबाहेक अन्य देशहरुमा पनि प्रायः १८ वर्ष भन्दा माथीको उमेरलाई नै विवाहका लागि कानुनी मान्यता दिएको पाईन्छ ।
सामाजिक दृष्टिकोण र समाधान
कुनैपनि समाजमा हरेक व्यक्तिले स्वतन्त्र जिउन पाउनुपर्ने र स्वतन्त्र आफ्नो चाहना पुरा गर्न पाउनु पर्ने नैसर्गिक अधिकार छ । विषेश गरि बालधिकारभित्र चार खम्बाहरु समावेश गरिएको पाईन्छ । बाँच्न पाउनुपर्ने अधिकार,संरक्षणको अधिकार,विकासको अधिकार र सहभागिताको अधिकार ।
ब्यक्तिले कोसंग विवाह गर्ने,कति सन्तान जन्माउने भन्ने स्वतन्त्रता छ तर, स्वतन्त्रतासंगै कति उमेरको अवस्थामा पुग्दा के गर्दा ठिक होला त ? भन्ने व्यवहारिक पक्षसंग जोड्न पनि आवश्यक छ, यी हरेक स्वतन्त्रताका गतिविधिहरु । बालविवाह हुनुमा महिलाभन्दा पुरुषको उमेर सामान्यतया बढी हुनुपर्ने सामाजिक एवं सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरीबी, अशिक्षा, असुरक्षा जस्ता कारणहरु प्रमुख रूपमा देखिएका छन् ।
बाल विवाहले बालबालिकाहरूलाई आधारभूत अधिकारबाट बञ्चित मात्र गराउँदैन उनीहरू आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रकृयामा सहभागी हुने अवसरबाट पनि बञ्चित हुन्छन् । विशेष गरी बालिका र महिलाको सन्र्दभमा बाल विवाह ले एउटा मात्रै अधिकारको उल्लंघन नगरी उनीहरूको जीवनचक्रमा थुप्रै अधिकार उल्ल्ंघनको शृङ्खला सृजना गरी थप हिंसाको कुचक्रमा पर्ने अवस्था रहन्छ ।
बाल विवाहको कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु देखिने, लैंगिक हिंसा,यौनजन्य हिंसा, बालश्रम, वेचविखन जस्ता थप हिंसाहरूले वालिका र महिलाहरू थप प्रताडित हुन पुग्दछन । कालान्तरमा समाज विकास प्रकृयामा महिलाहरूको भुमिका र सहभागितालाई न्यून बनाई सभ्य, सुंसस्कृत एवं समतामूलक समाज निर्माण गर्न बाल विवाह बाधक तत्व बन्न पुग्दछ ।
कानुनमा अहिले १८ बर्ष मुनिका किशोरी किशोरहरुलाई विवाह गर्न रोक लगाईएको छ तर त्यसको बेवास्ता गरि खुलेआम बालविवाह गरिरहेको पाईन्छ । अझै भनौ भने देश संघियतामा गएपछि कुन टोलमा कति र कसले बालविवाह गर्यो भनेर सहजै वडा सरकारले पत्ता लगाउन सक्छ तर, कहिकतै जानकारीमा आएसम्म बालविवाह रोक्ने तथा अलग बनाउने काम नभएका भने होईनन् तर अधिकांश स्थानमा विवाह कार्य रोक्न र अलग बनाउने प्रकृयामा उनीहरुको अभिभावक नै वाधक बनिदिने,विवाह गरिसकेका बालबालिकालाई अलग गर्दा अपरिवक्व निर्णय लिएर कुनै अप्रिय घटना निम्त्याउन सक्ने , अलग बनाईसकेपछि उनीहरुको पुनःसहजताका लागि समाजले सकरात्मक भुमिका खेलेको पाईदैन् ।
१८ बर्ष भन्दा कम उमेरका बालबालिकाहरु आफ्नो अभिभावकको संरक्षण,माया ममता र निर्देशनमा दैनिकी कटाईरहेकोले प्राकृतिक रुपमा पनि उनीहरुको मानसिक परिपक्व भएको हुदैन, त्यो विचमा उनीहरु व्यवहारिक पक्षबाट भविश्यलाई निक्र्यौल गर्न पनि सक्दैनन् । त्यो उमेर समुहका उनीहरु बढी भावनामा तल्लीन हुन्छन् । त्यहि क्षणिक भावनामा डुबेर आफ्नो स्वतन्त्र चाहना पुरा गर्न खोज्छन् तर, उनिहरुको बालमनोभावबाट गरिएका गतिविधिहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा परिवारका सदस्य,समाज,देश गर्दै कालान्तरमा स्वयम आफैले मानसिक र शारीरीक समस्या भोग्नु पर्छ ।
यही कारण परिपक्व उमेरमा नपुग्दासम्म विवाह नगर्नका लागि सरकारले कानुन बनाएर सचेत बनाउन प्रयास गरिरहेको छ । बालविवाह प्रथाले अझ बढी महिलाको मानसिक,भावनात्मक,समाजिक,प्रजनन् तथा हिंशा सम्म प्रभाव पारेको हुन्छ, यो विषयमा समाजमा छोरीहरुलाई अझ बढी सचेत बनाउनु पर्ने आवाश्यक ,छोरीहरुलाई अझै बुझाउन पर्छ, ताकी उनीहरुले आफुलाई प्रेम गर्न थालुन्,आफ्नो अधिकार र स्वतन्त्रता बुझुन् ।
विवाह पछि अलग भएकाहरुलाई समाजमा हेपाह प्रवृतिले विभेद गर्ने, मानसिक तनाव दिने खालको अभिब्यक्ति र व्यवहार गर्ने गरिएको पाईन्छ समाजमा यहि कारण उनिहरुमा नकरात्मक भावना पैदा हुन्छ,यस्ता डरले उनिहरु अलग हुन चाहदैनन् । ईज्जत र आत्मसम्मको प्रभावले पनि अलग भएर बस्न उनीहरु चाहदैनन् ।
जानेर वा भुलवस् बालविवाह गरेका बालबालिकालाई सम्बन्धित निकायले अलग गराईसकेपछि समाजमा पुनःसहजताका लागि समाजमा सबैभन्दा पहिले समाजिक दृष्टिकोणमा परिवर्तन गर्न जरुरी छ । आउनुहोस् त तपाई हामी मिलेर निम्न खालको प्रयास गरौ,जुन दायित्व सरकारको मात्रै नभएर तपाई अनि मेरो पनि हो ।
1. राष्ट्रिय रणनीतिका अधारमा कार्ययोजना तयार गर्ने र प्रभावकारी कार्यान्वयन गर्ने गराउने।
2. बाल विवाह विरुद्धको अभियानका लागि विभिन्न सरोकारवालाहरु बीच प्रभावकारी समन्वय, सहयोग र पैरवी गर्ने लगायत प्राविधिक तथा वित्तीय साधन स्रोतको प्राप्ति र पर्याप्त विनियोजनको व्यवस्थापन गर्ने ।
3.सम्बन्धित मन्त्रालयलाई बाल विवाह र यससँग सम्बन्धित दाइजो, वैकल्या लगायत अन्य हानिकारक प्रथाहरू सम्बन्धी नीतिमा सुधार गर्न आवश्यक पर्ने सुझाव दिने।
4. बाल विवाहको जोखिममा परेका वा पहिल्यै विवाह भैसकेका बालिका र बालकको संरक्षण र विकासका लागि विद्यमान नीतिको कार्यान्वयन गर्ने गराउने र आवश्यकतानुसार संशोधन तथा परिमार्जन गर्ने ।
5. विभिन्न तह तथा निकायमा बाल विवाह अन्त्य गर्नका लागि सम्बन्धित सम्पर्क व्यक्तिको परिचालन तथा क्षमता अभिवृद्धि गर्ने ।
6. बाल विवाह अन्त्य गर्नका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय रणनीतिबीच समाञ्जस्यता कायम गरी कार्यान्वयन गर्ने ।
7. बाल विवाहलाइ अन्त्य गर्ने कार्यक्रम संचालनका लागि आवश्यक पर्ने स्रोत विनियोजन गर्ने ।
8. बाल विवाहलाई अन्त्य गर्ने कार्यक्रमका लागि आवश्यकतानुसार सहयोग उपलव्ध गराउन दातृनिकायहरूसंग सहजीकरण गर्ने ।
8. स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूमा आवश्यकतानुसार बाल विवाह र स–सानो उमेरमा हुने गर्भधारणलाई निरुत्साहन गर्ने कार्यक्रमहरू समावेश गर्ने ।
9. बाल विवाहको विरुद्धको विषय किशोरकिशोरीमैत्री स्वास्थ सेवा कार्यक्रमसँग एकीकृत गर्ने ।
10. बाल विवाह विरुद्ध र वाल विबाहले पु¥याउने हानिका विषयका कार्यक्रमहरु विद्यालय एवं यसको जोखिममा रहेका समुदायसम्म पुर्याउने।
11. बाल विवाहको जोखिममा परेका बालबालिका, विद्यालय बाहिरका बालबालिका वा पहिलेनै बाल विवाह भई विभिन्न जोखिममा परेका बालिकाहरूका लागि उपयुक्त शैक्षिक कार्यक्रम संचालन गर्ने ।
12. बाल विवाह रोकथाम वा निषेध गर्ने राष्ट्रिय कानूनको कार्यान्वयन गर्न र दाईजो लगायत अन्य हानिकारक सामाजिक प्रथाको अन्त्य गर्न अन्र्तगतका निकायलाई प्रभावकारी रुपमा परिचालन गर्ने ।
13. विद्यमान नीति र कानुन अनुसार बाल विवाह गर्ने गराउने व्यक्तिहरूलाई कानुन बमोजिमकोकारवाही गर्ने गराउनेव्यवस्था सुनिश्चित गर्ने ।
14. बाल विबाह विरुद्धका कार्यक्रमहरुलाई स्थानीय वाल मैत्री शासन कार्यक्रममा एकीकरण गरी बाल विवाह विरुद्धको अभियानलाई स्थानीय बालमैत्री शासनको अभिन्न अंगको रुपमा विकास गर्ने ।
15. स्थानीय विकास प्रक्रियामा किशोरकिशोरीको सार्थक सहभागिता वढाउने
16. किशोरी तथा बाल विवाहको जोखिममा परेका बालिकाका साथै विवाहित बालिकाहरुलाई लक्षित गरीे खेलकुद र अतिरीक्त क्रियाकलापमा सहभागी गराउने कार्यको सुनिश्चितता गर्ने ।
17. बाल विवाहका विविध पक्षलाई समग्र रुपमा सम्बोधन गर्न राष्ट्रिय कानुन तथा नीतिहरुलाई संबैधानिक तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुन अनुरुप पुनरावलोकन गरी समायोजन गर्न कानुन निर्माण र संशोधनका लागि आवश्यक पहल गर्ने ।
18. बाल विवाह विरुद्धका कानूनहरुको प्रभावकारी कार्यान्वयनको लागि सम्बन्धित सरोकारवाला निकायहरुलाईअभिमुखीकरण गर्ने ।
19. दिगो बिकासको लक्ष्य अनुसार बाल विवाह अन्त्य गर्ने राष्ट्रिय लक्ष्य र किशोर किशोरीका समग्र विकासको राष्ट्रिय कार्ययोजनासँग सम्बन्धित सबै क्रियाकलापमा बाल विवाह विरुद्धका कार्यक्रमलाई एकीकृत गर्ने।
20. सम्बन्धित मन्त्रालयको बार्षिक कार्यक्रममा बाल विवाहलाई निरुत्साहन गर्ने कार्यक्रम समावेश गर्न प्रोत्साहन गर्ने ।
21. बाल विवाहवाट बालिबालिकाको जीवनमा हुने नकारात्मक असर, विवाहको कानूनी उमेर, कानून उल्लंघन गर्दा हुने सजायका विषयका साथै बाल विवाह लाई नैतिक मूल्य र मान्यता विरुद्धको रुपमा आम नागरिकमा सचेतना गर्न आम संचारका माध्यमको परिचालन गर्ने ।
22. उद्योग मन्त्रालय ड्ड किशोर–किशोरी खासगरी विद्यालयविहीन र विवाह भैसकेका बालिकाका लागि जीवनयापन,स्वरोजगार र रोजगारी कार्यक्रम संचालन गर्ने।
23. किशोरकिशोरी खासगरी जोखिममा परेका, विद्यालयविहीन र विवाह भैसकेका वालिकाको अनौपचारिक क्षेत्रमा हुने श्रम शोषणको अनुगमन गर्ने र कानून विपरित देखिएमा आवश्यक कारवाही गर्ने ।
24. जोखिममा परेका, विद्यालयविहिन र विवाह भैसकेका किशोरकिशोरीहरुका लागि रोजगारका अवसरहरु श्रृजना गर्ने ।
25. बाल विवाहवाट प्रभावित बालिकाहरुलाई लक्षित गरी जीविकोपार्जनको लागि व्यावसायिक सीप तथा तालीमको व्यवस्थापन गर्ने ।
26.बाल विवाहसंग सम्बन्धित मुद्धाहरुमा सरकारी वकिल कार्यालयका कर्मचारीलाई अभिमुखिकरण गर्ने ।
27. बाल बिवाह सम्बन्धी मुद्धाको अनुसन्धान, अभियोजन, बहस, पैरवी प्रतिरक्षा कार्य प्राथमिकताका साथ गर्ने ।
28.वाल विवाहका विरुद्धमा सामाजिक जागरण ल्याउन पैरवी र सचेतनाका कार्यक्रम संचालन गर्ने
29. वाल विवाहको जोखिम रहेका क्षेत्रमा यस विरुद्धका कार्यक्रमहरु संचालन गर्ने ।
30. वाल विवाहको अन्त्य गर्ने कार्यमा सरकार,विकासका साझेदार संस्थाहरु र निजी क्षेत्रसंग सहकार्य गर्ने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







