कांग्रेसले स्थानीय अवस्था र आवश्यकताअनुरूप चुनावी तालमेल गर्ने


     एभरेस्ट आवाज    
     चैत्र १५ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताअनुरुप सत्ता गठबन्धनमा रहेका अन्य दलसँग चुनावी तालमेल गर्नसक्ने नीतिगत निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आज सम्पन्न बैठकले निर्वाचनमा बहुसङ्ख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन सो निर्णय गरेको जनाएको छ ।

स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरूप कार्य अघि बढाइने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा यही चैत ११ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रारम्भ बैठकमा महामन्त्री गगनकुमार थापाले निर्णयार्थ प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

बैठकले गत फागुन ३ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरु अनुमोदन गर्नुका साथै विधानबमोजिम देशव्यापीरूपमा कांग्रेसको सदस्यता र क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्नेसमेत निर्णय गरेको उनले बताए ।

बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ र केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’ गठन गरेको छ ।

कांग्रेसले संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा प्रस्तुत गरेको सफल नेतृत्व, देश विकास र समृद्धिको यात्रामा प्रस्तुत गरिरहेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न लिएको पहलकदमी एवं वैदेशिक सम्बन्धमा सन्तुलित र परिपक्व भूमिकालगायतका कारण बहुसङ्ख्यक स्थानीय तहमा कांग्रेस विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको निष्कर्ष निकालेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।