स्थानीय चुनावः मतपत्रको परीक्षण छपाई सुरु


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०७८ मा प्रकाशित




आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको परीक्षण छपाई सुरु गरेको छ।

मतपत्र छपाइ हुँदा मापदण्डअनुरूपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकीन गर्न ३ दिनसम्म परीक्षण छपाई हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

यसैबीच, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोग पदाधिकारी टोली सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड जानु भई मतपत्र मुद्रण मेसिनको क्षमता र मतपत्र छपाई परीक्षणबारे जानकारी लिए। मतपत्र छपाईभन्दा अघि मेसिनको परीक्षण गरिएको छ।

आगामी स्थानीय तह निर्वाचनका लागि करिब २ करोडको संख्यामा मतपत्र छपाईको तयारी छ। विगतमा मतदाता संख्याको १५ प्रतिशतसम्म बढी मतपत्र छपाई हुने गरेकामा यस पटक आयोगले १० प्रतिशतमात्र बढी मतपत्र छपाउन लागेको छ। कतिपय जिल्लामा हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने भएकाले पहिले दुर्गम क्षेत्रका लागि मतपत्र छपाई हुनेछ।

काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाका लागि भने उम्मेदवारी मनोनयनपछि मात्र मतपत्र छपाई गरिने आयोग स्रोतले जानकारी दिएको छ। नेपाली सेनाको सुरक्षा व्यवस्थापनमा मतपत्र छपाई कार्य हुनेछ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।