बागलुङ । जनयुद्धमा बलिदान दिने सहिदको सम्मानमा बागलुङको काठेखोला गाउँपालिका–१ पाला, देउरालीडाँडामा सहिद उद्यान निर्माण कार्य जारी रहेको छ । वडाको लगानीमा उद्यान निर्माणले गति लिएको हो ।
हालसम्म झण्डै रु १५ लाख उद्यानमा खर्च भइसकेको वडाध्यक्ष खड्कबहादुर थापाले जानकारी दिए । आव २०७४÷२०७५ देखि उद्यानका लागि वर्षेनी बजेट छुट्टिँदै आएको छ ।
एकैचोटी धेरै लगानी जुटाउन नसकेपछि उद्यान निर्माणले समय लिएको वडाध्यक्ष थापाको भनाइ छ । चालू आवमा रु दुई लाख मात्र बजेट उद्यानलाई परेको छ । स्रोत जुटाएर जतिसक्दो छिटो उद्यानको योजनालाई पूर्णता दिइने वडाध्यक्ष थापाले बताए ।
अहिले दुई रोपनी क्षेत्रफलमा उद्यान निर्माण भइरहेको हो । पक्की घेराबार, प्रवेशद्वार, विश्रामस्थललगायत संरचना बनिसकेका छन् । उद्यानको बीचमा रहेको ठूलो स्वामीको रुखलाई मौलिक ढङ्गले संरक्षण गरिएको छ । उद्यान निर्माण समितिका अध्यक्ष मीनबहादुर थापाका अनुसार जनयुद्धका बेला शहादत प्राप्त गर्ने पालाका छ सहिदको सालिक राख्ने योजना छ ।
सभाकक्ष, अभिलेखालय, बगैँचा, चमेनागृहलगायतका संरचना बनाउन बाँकी छ । देउराली डाँडालाई पर्यटकीय उद्यानका रुपमा विकास गर्ने उद्देश्य लिइएको अध्यक्ष मीनबहादुरले बताए । सो डाँडामा स्थानीयवासीको धार्मिक÷सांस्कृतिक आस्थासमेत जोडिएको छ ।
वर्षेनी बाली पूजा हुँदा देउरालीमा फूलधजा नचढाइ पूजा चलाउन नहुने मान्यता छ । देउरालीमा चट्टानका कलात्मक रुपसमेत देख्न सकिन्छ । आगामी आवमा प्रदेश र सङ्घ सरकारबाट पनि उद्यानका लागि बजेट ल्याउन पहल गर्ने वडाले जनाएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







