फाइल तस्विर
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आज उद्घाटन गर्दै डा कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिएका हुन् ।
डा कोइरालाले तनहुँ सुगम भए पनि मानिस अझै पनि डोकामा पानी लिन जानुपर्ने अवस्था विडम्बना रहेको बताए । डा कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको भन्दै कसरी गठबन्धन भन्ने विषय प्रस्ट नभएको बताए । केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको नेतृत्वमा जिल्लामा विकास निर्माणको कामले गति लिएको बताए ।
बन्दीपुरमा खानेपानी, सडक लगायतका योजनामा कांग्रेसको पहल रहेको जनाउँदै उहाँले विकास गर्ने पार्टी भनेको कांग्रेस रहेको जिकिर गरे । खानेपानीको अभाव रहेको उक्त क्षेत्रका स्थानीयवासीलाई सहज बनाउन लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको हो ।
रु एक करोड ५१ लाखको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको अध्यक्ष रोजन बानियाँले जानकारी दिए। उक्त आयोजनाबाट २२५ घरधुरी लाभान्वित भएका छन् । खानेपानी योजनाबाट सिमलटार, धारापानी, चामुण्डाथान र थुम्कीका स्थानीयवासीका घरघरमा धारा जडान गरिएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







