पोखरा । नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखाको आयोजनामा शुक्लागण्डकी नगरपालिका वडा नं १ स्थित थप्रेक स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शुक्ला गण्डकी नगरपालिका वडा नं १ को आर्थिक सहयोगमा गरिएको शिविरमा गण्डकी मेडिकल कलेज अर्घौका बरिष्ठ फिजिसियन डा.सुखबहादुर गुरुङ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.बुद्धिराज गुरुङले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेका थिए ।
उक्त अवसरमा थप्रेक स्वास्थ्य चौकी इन्चार्ज रियाज अन्सारीले रक्तचाप एवम् तौल परीक्षण गरे भने अनमी वविता भट्टराई, अहेव वावुराम वाग्ले र उदय पगेनीले औषधी वितरणमा सहजीकरण गरेका थिए । उक्त शिविरमा १५० जनाको स्वास्थ्य परीक्षण गरिएको र करिब दुई लाख रुपैयाँ बराबरका औषधी वितरण गरिएको उपशाखाले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी तनहुँका पूर्व कार्यबाहक सभापति डिल्लीराम अधिकारीले रेडक्रसका संस्थापक हेनरी ड्युनाले तत्कालीन समयमा लडाइमा परेका घाइतेको दयनीय अवस्था देखेर यो संस्था स्थापना गरेको स्मरण गराए ।
शुक्लागण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रविचन्द्र पौडेलले ज्येष्ठ नागरिकका सेवाका लागि वडा कार्यालयका तर्फबाट निरन्तर सहयोग गर्दै आएको बताए । चिकित्सकद्वय सुखबहादुर गुरुङ र बुद्धिराज गुरुङले जन्मभूमिमा आएर निशुल्क सेवा गर्न पाउँदा खुसी लागेको बताए । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन इच्छुक रहेको उनले बताए ।
उपशाखाका अध्यक्ष समशेरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ठाकुरप्रसाद खनालले गरेका थिए । यस्तै कार्यक्रममा स्वागत ममिता गुरुङले गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







