एमाले पार्टी कार्यालय अत्याधुनिक भवनमा सर्दै


     एभरेस्ट आवाज    
     चैत्र २१ गते २०७८ मा प्रकाशित




काठमाडौँ । नेकपा (एमाले)को मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो ।

कार्यालय सचिव डा भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते पार्टी कार्यालय सर्ने जानकारी दिए । कार्यालय सञ्चालनका लागि पार्टीले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवनबाट पश्चिमतिर नयाँ भवन बनाइएको छ ।

एक वर्षअघि मात्र धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । नयाँ सार्न थालिएको तुल्सीलाल स्मृति भवनलाई पुनःनिर्माण गरेर अत्याधुनिक बनाउन थालिएको छ । अहिले धमाधम अत्याधुनिक कक्ष निर्माण गर्नुका साथै भवनको रङरोगनसमेत भइरहेको एमाले पार्टी कार्यालय भवन तथा मर्मतसम्भार कमिटीका सदस्य भरत पहाडीले जानकारी दिए ।

उनका अनुसार नयाँ भवनमा पार्टी सञ्चालनका लागि ७३ कार्यकक्ष निर्माण भइरहेका छन् । पार्टी पदाधिकारी, आयोग र विभागका लागि छुट्टाछुट्टै कार्यकक्ष बनाउन थालिएको छ । भुइँ तलामा १३, पहिलो तलामा १३ र दोस्रो तलामा ४७ कार्यकक्ष बनिरहेको भवन निर्माण कमिटीका सदस्य पहाडीले जानकारी दिए ।

उनका अनुसार नयाँ भवनमा एक ठूलो सभा हल र तीन सभाकक्ष रहनेछ । पार्टी केन्द्र्रीय कमिटी बैठक बस्नका लागि ५०० जना क्षमताको ठूलो हल निर्माण गरिएको छ । तीन महिना लगाएर प्रि इञ्जिनीयर्ड पोर्टल संरचना विधिअनुसार उक्त ५०० क्षमताको हल भवनको पश्चिमतिर बनाउन थालिएको विभागका सदस्य पहाडीले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।