सत्तारुढ दलहरुबीच गण्डकीमा गठबन्धन गर्ने सहमति


     एभरेस्ट आवाज    
     चैत्र २२ गते २०७८ मा प्रकाशित




आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा प्रभाव यकिन गरी आपसी गठबन्धन गर्नेमा सत्तारुढ प्रदेशस्तरका नेताहरु सहमत भएका छन्।

केन्द्र भन्दा पनि प्रदेश र स्थानीय तहमा गठबन्धन गरेर गएमा धेरै स्थानमा आफ्नो पकड जमाउन सकिने उनीहरुको दाबी छ।

नेपाली काँग्रेस गण्डकीको कार्यालयमा भएको बैठकमा सत्तारुढ ५ दलका नेताहरुबीच सो विषयमा सहमति गरेको हो।

आज (मंगलबार) बस्ने अर्को बैठकमा प्रदेशका ११ जिल्लामा संगठनको वर्तमान सांगठनिक अवस्था’दलगत यथार्थ जानकारी प्रस्तुत गर्ने सहमति बनेको छ।

प्रदेश तथा जिल्ला तहका नेताहरुको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा मिलेर जाने निर्णय भएसँगै गठबन्धनका नेता तथा कार्यकर्ताहरुमा उत्साह बढेको छ। जुन स्थानीय तहमा जुन दलको पकड छ, सोही अनुसार नै अगाडि बढ्नुपर्ने प्रस्ताव दलका प्रतिनिधिले राखेको नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचार विभाग प्रमुख रमेश पौडेलले बताए।

स्थानीय निर्वाचनका लागि प्रदेशस्तरमा तालमेल गर्दै पाँच दलको संयुक्त घोषणापत्र जारी गरिने तयारी छ। नेकपा (माओवादी केन्द्र) गण्डकी अध्यक्ष गायत्री गुरुङले केन्द्रको निर्देशन अनुसार वडा तहसम्मै गठबन्धन गरेर जाने सहमति भएको बताइन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।