पोखरा, चैत २२
कास्कीमा आउँदो शुक्रबारदेखि टाइफाइडबिरुद्धको खोप लगाइने भएको छ । बहुवर्षिय खोप कार्ययोजना २०१७–२१ को लक्ष्य अनुरुप यहि चैत चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म कास्कीमा टाइफाइडबिरुद्धको खोप लगाइने भएको हो ।

कास्कीसहित देशैभर पहिलोपटक सञ्चालन गर्न लागिएको टाइफाइडबिरुद्धको खोप १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने जनाइएको छ । अभियान अन्तर्गत गण्डकी प्रदेशमा ५ लाख ६० हजार २ सय २७ बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाइने छ । कास्कीमा भने १ लाख ४१ ह्जार ७ सय ७६ बालबालिकालाई खोप लगाउने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ ।
खोप प्रत्येक विद्यालयमा लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका कार्यालय प्रमुख बद्री आचार्यले जानकारी दिए । उनका अनुसार कास्कीमा खोप लगाउन ५ सय ४८ वटा खोप केन्द्र र १ हजार ७८ वटा सेन्टर तोकिएका छन् । टाइफाइडबिरुद्धको खोप लगाउन ४ सय ७८ जना भ्याक्सिनेटर र १ हजार १५ जना स्वयम्सेवी खटाइएको उनले जानकारी दिए ।
खोप सञ्चालन गर्न जिल्ला स्वास्थ्य कार्यालयले सबै खोप केन्द्रमा आवश्यक तयारी गरिसकेको जनाएको छ । तोकिएका केन्द्र र सेन्टरमा स्वास्थ्यकर्मी खटाउनेदेखि आवश्यक खोपको ब्यबस्था भइसकेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।
यसैबीच, गण्डकी प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालयले पनि प्रदेशका सबै जिल्लामा खोप लगाउने तयारी पूरा भएको जनाएको छ । गण्डकी प्रदेशका प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काका अनुसार स्वास्थ्य अधिकारीहरुलाई तालिम र सुक्ष्म योजना यसअघि नै गराइसकेको तथा आवश्यक खोप र खोपसँग आवश्यक पर्ने सामग्रीहरु पु¥याइसकिएको छ ।
टाइफाइड खोपको प्रभावकारीता ९६.९७ प्रतिशत रहेको दाबी गरिएको छ । यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउनलेलगायतका लक्षण देखिएपनि जटिल प्रकारको समस्या नआउने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य सामग्री आपूर्ति व्यवस्थापन विभागका निर्देशक डा.रोसन न्यौपानेले बताए । प्रति लाखमा एक जनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधीकोसमेत व्यवस्था गरिने उनको भनाई छ । उनले टाइफाइड रोकथामका लागि खोप प्रभावकारी हुने विश्वास व्यक्त गरे । ‘तर भ्याक्सिन लगाइएको छ भनेर मात्र पुग्दैन । भ्याक्सिनसँगै सरसफाईपनि ध्यान दिनुपर्छ’–उनले भने ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार टाइफाइडबाट विश्वमा हरेक वर्ष २ करोड मानिस विरामी हुने गरेका छन् । त्यसमध्ये करीब १ लाख ६१ हजार जनाले ज्यान गुमाउने गरेका छन् । नेपालमा भने प्रति १ लाखमा १ हजार ६२ जनामा टाइफाइडको संक्रमण दर रहेको छ भने १५ वर्ष मुनिका बालबालिकामा प्रति १ लाखमा १० हजार ९ सय ६० संक्रमण दर रहेको छ । नेपालमा वर्षेनी ४ लाख ५० हजार मानिस यसबाट विरामी हुने गरेका छन् । नेपालमा प्रति लाखमा ९ सय जनाले ज्यान गुमाउने गरेको बताइन्छ । गण्डकी प्रदेशमा भने टाइफाइडका कारण प्रति वर्ष कति विरामी हुन्छ भन्ने तथ्याङ्क छैन । तर उपचारका लागि अस्पताल आउने विरामी मध्ये हरेक चार जनामा एक जना अर्थात एक चौथाई विरामी टाइफाइडका विरामी हुने गरेको डा.न्यौपानेले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





