पोखरा । आजदेखि पोखरामा प्याराग्लाइडिङको छाता संस्था (एफएआई) मान्यता प्राप्त ‘२० औं अन्तर्राष्टिय नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ सुरु भएको छ । तिन दिनसम्म चल्ने प्रतियोगिताको आज गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालले औपचारिक रुपमा उद्धघाटन गरेका हुन् ।
कार्यक्रमको उद्धघाटन गर्दै उनले साहसिक प्याराग्लाईडिङ गण्डकी प्रदेशको पहिचान भएकोले पोखराका पर्यटनहरु एक भएर अगाडी बढ्नुपर्ने बताए । उनले यस खालको प्रतियोगिताले पर्यटकिय पोखरा कोरोना महामारी पछि घुम्नको लागि स्वतन्त्र रहेको भन्दै अन्तराष्ट्रिय स्तरमा सकरात्मक सन्देश प्रवाह हुने बताए ।
पोखरा वडा नं १८ सराङकोटमा आयोजना हुने उद्घाटन सङ्गै तिन दिने प्रतियोगितामा सोलो ओभर अलतर्फ ३५ पुरुष र १० जना महिला तथा टेन्डमतर्फ पुरुष २५ जना खेलाडीहरुले भाग लिएको ना का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।
प्रतियोगिताको अन्तिम दिन चैत २५ गते विभिन्न सांस्कृतिक भेष–भुषा सहित पाइलटहरुले कौशल पदर्शन गर्नेछन् भने सोही दिन प्रतियोगितामा निकै आकर्षक मानिने एक्रोवेटिक एयर शो समेत हुने अध्यक्ष भण्डारीले बताए ।
प्रतियोगिता नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा हुने उक्त प्रतियोगितामा ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिष्पर्धा हुने नाले जनाएको छ । एफएआईका अन्तर्राष्ट्रिय च्याम्पियनसिप, नेपालमा हुने प्याराग्लाइडिङ वर्ल्ड कप तथा प्रि वर्ल्डकप र पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि समेत प्रतियोगिता सञ्चालन गरिएको हो।
प्याराग्लाइडिङको एक्युरेसी विद्यातर्फ विभिन्न चार वटा इभेन्टमा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाएका छन् । त्यसै गरी प्रतिष्पर्धा अन्तर्गत ल्याण्डिङ् ओभरअलको प्रथम, द्वितिय, तृतिय र सान्त्वना तर्फ हुने खेलाडीले क्रमश नगद रु ५०, ३०, २० र १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । महिलातर्फ भने सो विद्या अन्तर्गत प्रथम, द्वितिय, तृतिय र सान्त्वना तर्फ हुने खेलाडीले क्रमश नगद रु ३०, २०, १० र ५ हजार प्राप्त गर्नेछन् ।
त्यसै गरी अन्य विद्यातर्फको एक्युरेसी टेन्डम पुरुष अन्तर्गत प्रथम, द्वितिय, तृतिय र सान्त्वना तर्फ हुने खेलाडीले क्रमश नगद रु ३०, २०, १० र ५ हजार प्राप्त गर्नेछन् भने एयर शो तर्फ वेष्ट एक्रोबेटिक शोतर्फ प्रथम हुनेले नगद १५ हजार, दोश्रोले नगद १० हजार र तेश्रो हुनेले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र गर्नेछन् । त्यसै गरी वेष्ट कस्टुयुमतर्फ समेत पुरस्कार प्रदान गरिने छ ।
उक्त प्रतियोगितामा वेष्ट कस्टुयुमतर्फ नगद १० हजार प्रदान गरिनेछ । पोखरामा व्यवसायिकरुपमा सञ्चालन भएका ६० भन्दा वढी कम्पनी रहेको र करिव ५ सयको हाराहारीमा प्याराग्लाइडिङ पाइलटहरु कार्यरत रहेकोले पनि पोखरा विश्वमा नै प्याराग्लाइडिङ गन्तव्यको रुपमा पहिचान बनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







