पोखराको अमरसिंह माविका विद्यार्थीलाई खोप लगाएर शुरु गरियो टाइफाइडबिरुद्धको खोप अभियान


     एभरेस्ट आवाज    
     चैत्र २४ गते २०७८ मा प्रकाशित




पोखरा, चैत २४

गण्डकी प्रदेशमा टाइफाइडबिरुद्धको खोप लगाउन थालिएको छ । प्रदेशमा पहिलोपटक टाइफाइडबिरुद्धको खोप १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाका लागि अभियानका रुपमा लगाउन थालिएको हो । अभियानको पोखराको अमरसिंह माविका विद्यार्थीलाई विहीबार खोप लगाएर शुभारम्भ गरिएको हो । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुभारम्भ गरे ।

खोप अभियानको विहीबार शुभारम्भ गरिएपनि शुक्रबारदेखि प्रदेशभरका बालबालिकाहरुलाई खोप लगाउन शुरु गरिनेछ । बहुवर्षिय खोप कार्ययोजना २०१७–२१ को लक्ष्य अनुरुप यहि चैत चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म गण्डकी प्रदेशमा टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको हो ।

खोप अभियान अन्तर्गत करीब २२ दिनमा गण्डकी प्रदेशका ५ लाख ६० हजार २ सय २७ बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले जानकारी दिए । अभियान अन्तर्गत कास्कीमा १ लाख ४१ हजार ७ सय ७६ बालबालिकाहरुलाई खोप लगाइने जनाइएको छ । जस अन्तर्गत १५ महिनादेखि ४ वर्षसम्मका २१ हजार ३०२ जना र ४ वर्षदेखि १५ वर्ष उमेर समूहका ८९ हजार ४४९ जना बालबालिकालाई खोप लगाइनेछ ।

त्यस्तै, तनहुँमा १५ महिनादेखि ४ वर्ष सम्मका १३ हजार ६६३ र ४ वर्षदेखि १५ वर्षसम्मका ५९ हजार ४ सय ७९ गरी कुल ७३ हजार १४२, गोर्खामा १५ महिनादेखि ४ वर्षसम्मका १४ हजार २१५ र ४ वर्षदेखि १५ वर्षसम्मका ५४ हजार ६८५ गरी कुल ६८ हजार ९ सय, लमजुङमा १५ महिनादेखि ४ वर्षसम्मका ६ हजार ८६५ र ४ वर्षदेखि १५ वर्षसम्मका २९ हजार २४० गरी कुल ३६ हजार १०५ जना बालबालिकालाई खोप लगाइने जनाइएको छ ।

यसैगरी, स्याङ्जामा १५ महिनादेखि ४ वर्षसम्मका १२ हजार ३८५ र ४ वर्षदेखि १५ वर्षसम्मका ५१ हजार १४० गरी कुल ६३ हजार ५ सय २५, मनाङमा १५ महिनादेखि ४ वर्ष सम्मका ४६१ र ४ वर्षदेखि १५ वर्षसम्मका १ हजार ४८२ गरी कुल १ हजार ९ सय ४२, मुस्ताङमा १५ महिनादेखि ४ वर्ष सम्मका ९३८ र ४ वर्षदेखि १५ वर्षसम्मका ३ हजार १६८ गरी कुल ४ हजार १०६, म्याग्दीमा १५ महिनादेखि ४ वर्ष सम्मका ५ हजार ५१६ र ४ वर्षदेखि १५ वर्षसम्मका २३ हजार १९५ गरी कुल २८ हजार ७ सय ११, पर्वतमा १५ महिनादेखि ४ वर्ष सम्मका ५ हजार ७२५ र ४ वर्षदेखि १५ वर्षसम्मका २५ हजार २१५ गरी कुल ३० हजार ९४०, बागलुङमा १६ हजार ६१४ र ४ वर्षदेखि १५ वर्ष उमेर समूहका ६४ हजार ७११ गरी कुल ८१ हजार ३२५ तथा नवलपुरमा १५ महिनादेखि ४ वर्ष सम्मका १६ हजार ३९९ र ४ वर्षदेखि १५ वर्ष उमेर समूहका ६४ हजार ३८० गरी कुल ८० हजार ७७९ जना बालबालिकालाई खोप लगाइने खोप अभियानका फोकल पर्सन विष्णु सुबेदीले जानकारी दिए ।

खोप साविकको गाविसको प्रत्येक वडामा रहेका विद्यालयहरुमा लगाउने व्यवस्था गरिएको प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले जानकारी दिए । ‘प्रत्येक विद्यालय र वडा कार्यालयमा खोप लगाउने व्यवस्था गरेका छौं । आवश्यक परे स्वास्थ्य संस्थामापनि खोप लगाउने व्यवस्था गर्छौं’–उनले भने । खोप लगाउनका लागि आवश्यक मात्रामा स्वास्थ्यकर्मी र सहयोगी खटाइएको उनले बताए ।

खोप सञ्चालन गर्न स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै जिल्लाका अधिकारीहरुलाई तालिम दिएको थियो । खोप र खोपसँग आवश्यक पर्ने सामग्रीहरु खोप केन्द्रहरुमा पु¥याइसकिएको प्रदेश स्वास्थ्य निर्देशक खड्काले बताए ।

अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्धारित समयमै प्रदेश भित्रका लक्षित समूहलाई खोप लगाईसकिने विश्वास व्यक्त गरे । उनले लोककल्याणकारी राज्यको अवधारणा अनुरुप प्रदेशमा स्वास्थ्य बीमा, निःशुल्क रगतलगायतका कार्यक्रम ल्याएर प्रदेशबासीको स्वस्थ जीवनको ज्ञारेन्टी गर्ने प्रयास गरेको बताए ।

गण्डकी प्रदेशकी स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङले टाइफाइडबिरुद्धको खोप बालबालिकाका लागि ठूलो महत्वको भएको बताईन् । उनले शारिरिक र मानसिक रुपमा स्वस्थ रहनुपर्ने भन्दै भनिन्,‘दिल र दिमाग दुबैबाट स्वस्थ रहौं ।’

टाइफाइड खोपको प्रभावकारीता ९६.९७ प्रतिशत रहेको दाबी गरिएको छ । यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउनलेलगायतका लक्षण देखिएपनि जटिल प्रकारको समस्या नआउने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य सामग्री आपूर्ति व्यवस्थापन विभागका निर्देशक डा.रोसन न्यौपानेले बताए । प्रति लाखमा एक जनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधीकोसमेत व्यवस्था गरिएको उनको भनाई छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार टाइफाइडबाट विश्वमा हरेक वर्ष २ करोड मानिस विरामी हुने गरेका छन् । त्यसमध्ये करीब १ लाख ६१ हजार जनाले ज्यान गुमाउने गरेका छन् । नेपालमा भने प्रति १ लाखमा १ हजार ६२ जनामा टाइफाइडको संक्रमण दर रहेको छ भने १५ वर्ष मुनिका बालबालिकामा प्रति १ लाखमा १० हजार ९ सय ६० संक्रमण दर रहेको छ । नेपालमा वर्षेनी ४ लाख ५० हजार मानिस यसबाट विरामी हुने गरेका छन् । नेपालमा प्रति लाखमा ९ सय जनाले ज्यान गुमाउने गरेको बताइन्छ । गण्डकी प्रदेशमा भने टाइफाइडका कारण प्रति वर्ष कति विरामी हुन्छ भन्ने तथ्याङ्क छैन । तर उपचारका लागि अस्पताल आउने विरामी मध्ये हरेक चार जनामा एक जना अर्थात एक चौथाई विरामी टाइफाइडका विरामी हुने गरेको डा.न्यौपानेले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।