काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोपको शुभारम्भ गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने विश्वास व्यक्त गरे । उनले यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने उल्लेख गरे । उनले राजधानीलगायत सहरी क्षेत्रमा फोहरको समस्याको दिगो समाधानका लागि फोहरको प्रशोधन प्लान्ट स्थापना गरी त्यसबाट ग्यास तथा विद्युतीय ऊर्जा उत्पादन गर्न सकिने हुँदा यसतर्फ लाग्न स्थानीय निकायहरूलाई आग्रह गरे ।
प्रधानमन्त्री देउवाले भने, ‘‘धरानलगायत कतिपय सहरमा फोहर प्रशोधन प्लान्ट निर्माण गरी ऊर्जा उत्पादन गरिएको र त्यस ऊर्जाबाट सवारीसाधनसमेत सञ्चालन गरिएका छन् । आफ्नै लगानीमा गर्न सकिने यस्ता प्रविधितर्फ लाग्न खोजेमा सरकारले पनि आवश्यक सहयोग गर्नेछ ।” प्राकृतिकरूपमा सुन्दर राजधानी काठमाडौँमा फोहरको समस्याले सौन्दर्यतामा ह्रास आउनुका साथै अनेक रोगको सङ्क्रमण फैलने जोखिम रहने हुँदा फोहर व्यवस्थापनमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड रोग नियन्त्रणमा नेपालले विश्वमै उदाहरणीय सफलता हासिल गर्न सकेको उल्लेख गर्दै दक्षिण एशियामा नेपालले पहिलोपटक टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु गर्न लागेको जानकारी दिए ।
उनले विश्वमा हालसम्म १६ प्रकारका खोपको उत्पादन भएको र तीमध्ये धेरै खोपको प्रयोग गर्न कमै मात्र देशले सकेको अवस्थामा नेपालले १३ प्रकारका खोप सञ्चालनमा ल्याउन सकेको उल्लेख गरे । बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले कोभिडविरुद्धको खोप अभियानमा बागमती प्रदेशले पहिलो सफलता हासिल गरेजस्तै टाइफाइड रोगविरुद्धको खोप अभियानलाई पनि सफल बनाउने प्रतिबद्धता जनाए ।
नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनाका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र रहेको देखिएको छ । यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने जनाइएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







