पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको बैठकले ७ जनालाई प्रदेश संसदीय समितिको सदस्यमा मनोनयन गरेकको छ ।
शुक्रबार बसेको बैठकले नेपाली कांग्रेसको विधानअनुरुप ७ जनालाई प्रदेश संसदीय समितिको सदस्यमा मनोनयन गरेको हो । संसदीय समितिमा अर्जुन जोशी (पर्वत), माधव बास्तोला (कास्की), मीना केसी (पर्वत), पूर्णबहादुर दाहाल (गोरखा), द्रोण वन सन्यासी (नवलपुर), इन्द्रप्रसाद पौडेल (बाग्लुङ )र खुमबहादुर गुरुङ (स्याङ्जा) रहेका पार्टी प्रचारप्रसार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिए ।
संसदीय समितिमा ९ जना हुने भए पनि २ जनाको स्थान खाली राखिएको छ । पदाधिकारीहरु संसदीय बोर्डको पदेन सदस्य रहने छन् ।
यस्तै बैठकले उपसभापति कल्पना तिवारीलाई प्रशिक्षण विभागको प्रमुख तोक्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले आसन्न निर्वाचनका लागि प्रचार प्रसार अभियानलाई तिव्र बनाउन महामन्त्री किरण बाबु श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ । अर्का महामन्त्री विष्णु लामिछानेको संयोजकत्वमा नीति निर्माण तथा घोषणापत्र तयार गरी प्रदेश समिति समक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी अनुशासन समितिको संयोजक शान्तिरमण वाग्ले (तनहुँ) र सदस्यमा ध्रुव पगेनी (स्याङ्जा) लाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी बैठकले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई मासिक लेभी रकम बुझाउनु पर्ने निर्णय समेत गरेको छ ।
बैठकमा ३६ वटा निर्वाचन क्षनेत्रमा खटाइएका प्रदेशका प्रतिनिधिहरुले क्षेत्रगत रुपमा प्रतिवेदन पेश गरेका थिए ।
अधिकांश प्रतिनिधिहरुले गठबन्धन बारेमा मिश्रित धारणा राखेका थिए । प्रस्तुत गरिएका प्रतिवेदनमा कांग्रेसको सङ्गठन बलियो र कांग्रेसजनमा उत्साह थपिएको पाइयो । बैठकलाई संबोधन गर्दै सभापति शुक्रराज शर्माले अबको काङ्ग्रेस युवाहरुको नेतृत्वमा अगाडि बढाउने बताए ।
उनले पार्टीभित्र गुट–उपगुट नभई सबै कांग्रेस एक भएर निर्वाचनमा जानुपर्नेमा जोड दिए । उनले केन्द्रको निर्देशनअनुरुप अन्य दलसँगको गठबन्धनलाई प्रभावकारी रुपमा लैजानुपर्ने बताए।
वरिष्ठ नेता अर्जुनप्रसाद जोशीले बैठकमा बोल्दै सक्षम व्यक्तिलाई पाटीले कदर गरी स्थानीय तहमा कुनै गुट र नेताको छाप नपारी जानुपर्ने बताए । कांग्रेस जिताउन सबै कार्यकर्ताहरु बृहत्तर सोच र दृष्टिकोणका साथ अगाडि बढ्नु पर्ने धारणा नेता जोशीले राखे ।
बैठकमा जिल्लाका पाटीसभापतिहरु, महामन्त्रीद्वय किरण बाबु श्रेष्ठ र विष्णु लामिछानेले सङ्गठनका बारेमा धारणा राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







