बागलुङ । हरेक नागरिकलाई उत्पादनसँग जोड्ने भन्दै बागलुङमा एक वडाले सामुदायिक वनमा फलफूल खेती थालेको छ । काठेखोला गाउँपालिका–७ रेशले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर फलफूल खेती थालेको हो ।
बहुवर्षे उत्पादन दिने फलफूलका बिरुवा सामुदायिक वनमा लगाइएको वडाध्यक्ष प्रेम लामिछानेले बताए । काम नलाग्ने रुखमात्रै हुर्काएर सामुदायिक वनबाट किसानले फाइदा लिन नसक्ने जनाउँदै वडाले वनमा उत्पादन गर्न सकिने फलफूलका बिरुवा लगाउन सुरु गरेको हो ।
पहिलो चरणमा वडामा रहेका दुईवटा सामुदायिक वनमा फलफूल लगाइएको छ । जापानिज नास्पाती, एभोगाडो, प्लम, टिमुरलगायतका फलफूल र औषधिजन्य जडीबुटीका बिरुवा वनमा लगाइएको लामिछानेले बताए । साङ्खोला सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा दुई हजार ५०० बिरुवा लगाइएको उनले बताए ।
डिभिजन वन कार्यालय बागलुङ, कृषि ज्ञान केन्द्रलगायतका संस्थाले वडाको अभियानमा बिरुवा सहयोग गरेका थिए । रेशकै मौवाघारी सामुदायिक वनमा पनि परीक्षणका रूपमा फलफूलका बिरुवा लगाउन थालिएको उनले बताए। वनमा फलफूलका बिरुवा लगाउँदा सामुदायिक वन उपभोक्ता समूहको आम्दानी बढ्ने र बाँदर नियन्त्रणमा समेत सहयोग पुग्ने वडाको विश्वास छ ।
वन पनि नमासिने र फलफूल पनि हुर्किने गरी खाली जमिनमा बिरुवा लगाउन वडाले अनुरोध गरेको छ । बाँदरले खान मिल्ने फलफूल वनमै हुँदा घर गाउँमा डुल्ने बाँदर वनमा रोकिने र खेतीपाती जोगिने वडाको विश्वास छ ।
टिमुरलगायतका औषधिजन्य जडीबुटीबाट सामुदायिक वनले आयआर्जन गर्न सक्ने स्थानीय रामचन्द्र शर्माले बताए । रेशमा नौ सामुदायिक वन छन् । सबै सामुदायिक वनमा क्रमशः फलफूल खेती विस्तार गर्ने योजना रहेको लामिछानेले बताए ।
अघिल्लो आर्थिक वर्षमा रु पाँच लाख खर्चेर फलफूल तथा जडीबुटीका बिरुवा लगाएको वडाले ती बिरुवाको संरक्षण र गोडमेलको जिम्मेवारी सामुदायिक वनलाई नै दिएको छ ।रासस
पशुपालन र खेतीपाती धेरै हुने रेशका सामुदायिक वनमा हुने घाँसले किसानलाई सहयोग गर्ने गरेको छ । फलफूल तथा जडीबुटी उत्पादन सुरु हुँदा किसान उपभोक्तालाई आर्थिकरूपमा थप सहयोग पुग्ने वडाध्यक्ष लामिछानेले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







