तनहुँको पालिकास्तरमा सत्तासाझेदार दलले सुझाव संकलन गर्ने


     एभरेस्ट आवाज    
     चैत्र २९ गते २०७८ मा प्रकाशित




स्थानीय तह निर्वाचनका लागि सत्तासाझेदार दलले तनहुँका सबै पालिकामा सुझाव संकलन गर्ने भएको छ।

अगामी वैशाख ३० गते हुने सो निर्वाचनका लागि जिल्लास्तरीय गठबन्धन समितिको आइतबार बसेको बैठकले १० वटै पालिकामा सुझाव संकलन गर्ने निर्णय गरेको हो।

नेकपा माओवादी केन्द्रको कार्यालयमा बसेको बैठकले ४ नगरपालिका र ६ गाउँपालिकामा पालिकास्तरीय सुझाव संकलन गरी अर्को बैठक वैशाख २ गते बस्ने निर्णय गरेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिएका छन्।

‘गठबन्धनलाई बलियो बनाउनका लागि पालिकास्तरीय सुझाव संकलन गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकले सहमति गरेको छ,’ उनले भने, ‘पालिकास्तरमा बैठक राखेर सुझाव संकलन गर्छौ।’

काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरिसकेका छन्। बैठकमा काँग्रेस जिल्ला सभापति जितप्रकाश आले, माओवादी केन्द्रका अध्यक्ष राजेन्द्रकेशरी न्यौपाने, एकीकृत समाजवादीका जिल्ला सचिव श्रीराम कार्कीलगायतको सहभागिता थियो।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।