एभरेष्ट मिडिया हाउस प्रालि.का प्रवन्ध निर्देशक/सम्पादक श्रेष्ठ राष्ट्रपतिबाट बिभूषित


     एभरेस्ट आवाज    
     वैशाख १ गते २०७९ मा प्रकाशित




कास्की । एभरेष्ट मिडिया हाउस प्रालि.का प्रवन्ध निर्देशक/सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्की शाखाका निबर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिभूषित भएका छन् ।

उनी संचारकर्मका माध्यमबाट सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै राष्ट्रपतिद्धारा जनसेवाश्री पञ्चम श्रेणी पदकबाट आज विभुषित भएका हुन् । निर्देशक श्रेष्ठसहित राष्ट्रपति भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मानपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई नयां बर्षको पहिलो दिन बैशाख १ गते बिहिबार सुशोभन गरेका छन् ।

कार्यक्रममा गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरु स्व तुल्सीलाल अमात्य, स्व मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व दुर्गानन्द झा, स्वरसम्राट स्व नारायणगोपाल गुरुवाचार्यलाई मानपदवी प्रदान गरियो ।

यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट राजनीतिज्ञहरू प्रदीप नेपाल, स्व पोष्टबहादुर बोगटी, स्व मार्शलजुलुम शाक्य, उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बिभुषित भए । समारोहमा प्रशिद्द प्रबल जनसेवाश्री ३९ जनालाई, सुकीर्तिमय राष्ट्रदीप २८, सुप्रबल जनसेवाश्री १५८ जनालाई, कीर्तिमय राष्ट्रदीप ७ जनालाई , प्रबल जनसेवाश्री ३१३ जनालाई र जनसेवाश्री १८५ जनालाई गरि करिब पाँच सयको सङ्ख्यामा विभिन्न सेवाका व्यक्तित्वहरु बिभूषित भएका छन् ।

बिहीबारै कास्कीका अग्रज कलाकार प्रकाश घिमिरे, शिक्षासेवी चिनु रानाभाट, सामाजिक अभियन्ता कोविदशरण उपाध्याय, बाल अभियन्ता प्रेन्सा रेग्मी, कास्कीका प्र.जि.अ.जयनारायण आचार्य, जिल्ला प्रहरी प्रमुख रमेश थापा लगायत बिभिन्न पदकबाट बिभुषित भए ।

राष्ट्रपति शितलनिवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाँणलगायत मन्त्रीगण र उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।