पोखराको मेयर उम्मेदवार छान्न एमालेभित्र आज मतदान हुँदै

- हालसम्म, पोखरा महानगरको ३३ वडामध्ये नेकपा एमालेले वडा न. २, ३, ४, १८, २०, २५ र २७ मा वडाध्यक्षका लागि सर्वसम्मत सिफारिस गरेको छ


     एभरेस्ट आवाज    
     वैशाख २ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिकाको मेयरको उमेदवार सिफारिस गर्न नेकपा एमालेको महानगरपालिका कमिटीभित्र आन्तरिक निर्वाचन हुँदै छ।

पोखराको शान्ति वनस्थित कास्की जिल्ला पार्टी कार्यालयमा आज (शुक्रबार) बिहान निर्वाचनका लागि नेकपा पोखरा महानगर कमिटीको सदस्यहरु तयारी अवस्थामा छन्।

मेयर र उपमेयर छान्न हिँजै (बिहीबार) निर्वाचन तालिका समेत सार्वजनिक गरिसकेको छ।

निर्वाचन कमिटीले बिहीबार तोकेको निर्वाचनको समयतालिकामा भने प्राविधक कारण ढिला हुन गएको नेकपा एमाले पोखरा महानगर कमिटी ईञ्चार्ज दिलिप न्यौपानेले जानकारी दिएका छन्।

निर्वाचन कमिटीले शुक्रबार बनाएको नयाँ निर्वाचन तालिकाअनुसार अहिले बिहान ९ बजेदेखि १० बजेसम्म उमेदवारी दर्ता र लगत्तै उमेदवारको नामावली प्रकाशन। १० बजेदेखि ११ बजेसम्म दावा विरोध, छानबीन र नाम फिर्ता र ११ बजे अन्तिम नामावली प्रकाशन गर्ने समय तोकेको छ।
बिहीबार बेलुकसम्म मेयरको उमेदवार बन्न पार्टीभित्रै १२ जना आकांक्षी छन् । उपमेयरमा ११ जना छन्।

मेयरका लागि केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारीले आन्तरिक बैठकमा उमेदवारी दिएका छन्। महानगर कमिटीका

त्यस्तै, महानगर उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी, जीवनप्रसाद आचार्य, बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेलले आन्तरिक बैठकमा उमेदवारी दर्ता गराएका छन्। पार्टीभित्र आकांक्षा व्यक्त गरेकाहरुले अब शुक्रबार औपचारिक रुपमा उमेदवारी दर्ता गराउँदै छन्।

नेकपा एमाले पोखरा महानगर कमिटीभित्र हाल ११० सदस्य छन्। तिनै सदस्यहरुको मतदानका आधारमा उमेदवार सिफारिस सूची तयार हुने भएको महानगर ईञ्चार्ज न्यौपानेले बताए। सुरुको महानगर कमिटीमा १११ सदस्य रहेको र उक्त कमिटीबाट तोरणबहादुर बानिया बाहिरिसकेकाले हाल ११० जना सदस्य रहेको ईञ्चार्ज न्यौपानेको भनाई छ। बानियाले यसअघि नै पार्टीको जिल्ला अधिवेशनमा सदस्यका लागि उमेदवार दिएकाले स्वतः उनको नाम महानगर कमिटीबाट हटेको हो। कुनै कमिटीको सदस्यले जुनकुनै कमिटीमा उमेदवारी दिएपछि भइरहेको कमिटीबाट नाम हट्ने नेकपा एमालेको विधानमा उल्लेख छ।

हालसम्म, पोखरा महानगरको ३३ वडामध्ये नेकपा एमालेले वडा न. २, ३, ४, १८, २०, २५ र २७ मा वडाध्यक्षका लागि सर्वसम्मत सिफारिस गरेको ईञ्चार्ज न्यौपाने बताए।

नेकपा एमाले पोखरा महानगरको वडा नं २ मा दीपक शाही, वडा नं ३ मा बिष्णुशंकर ख्वाउनू, वडा नं ४ मा मदन मुल्मी, वडा नं १८ मा पुष्कल थापा, वडा नं २० मा गंगाबहादुर केसी, वडा नं २५ तीर्थबहादुर थापा र २७ मा सूर्यमणि लामिछानेलाई सर्वसम्मत सिफारिस गरेको न्यौपानेले जानकारी दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।