मित्र मिलनको ९औँ स्थापना दिवसका अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग


     एभरेस्ट आवाज    
     वैशाख २ गते २०७९ मा प्रकाशित




कास्की । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थाको ९औँ स्थापना दिवसको अवसरमा आज पोखरा-२२ पुम्दीभुम्दीस्थित आदर्श ज्येष्ठ नागरिक समितिका ९ जना सदस्यहरुलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा २२ का वडाध्यक्ष मित्रलाल बरालले सहकारीले स्थापना दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई गरिएको सम्मान र सहयोगका लागि धन्यवाद दिए ।

सहकारी नाफामुखी हुने, सामाजिक काम भन्दा धेरै रमाईलो र विलासिताका कार्यक्रमहरुमा खर्च गर्ने परिपाटी रहेकोमा मित्र मिलनले विगतदेखी नै सामाजिक कार्यमा सक्रिय रहेको जनाउँदै यस्ता कार्यक्रमहरुको निरन्तरता हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमको बिशेष अतिथिका रुपमा रहेका राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका शाखा प्रबन्धक नरेश पाण्डेले ज्येष्ठ नागरीक समाज र राष्ट्रका गहना भएको बताए ।

मित्र मिलन सहकारी सुख दुखमा साथ दिने सहकारी रहेको उल्लेख गर्दै संस्थासँग आवद्ध भएर हातेमालो गर्दै अगाडी बढ्न सुझाए ।

आदर्श ज्येष्ठ नागरीक समितिका अध्यक्ष तथा पूर्व वडाअध्यक्ष खडानन्द बरालले ज्येष्ठ नागरिक समूहलाई आवश्यक परेका फर्निचरहरु सहयोग तथा जेष्ठ नागरीकलाई सम्मान गरिएकोमा खुसी ब्यक्त गर्दै संस्थालाई शुभकामना दिए ।

कार्यक्रममा उपभोक्ता सहकारी संघ कास्कीका अध्यक्ष कृष्णप्रसाद बराल, शुक्रराज माविका प्रधानाध्यापक नरनाथ बराल लगायतले मित्र मिलन सहकारीले गर्व गर्न लायक सामाजिक कार्य गरेकोमा धन्यवाद दिए ।

पोखरा-९ नयाँबजारमा मुख्य कार्यालय रहेको संस्थाले नगद, दोसल्ला,माला लट्ठीसहित सम्मान गरेको छ भने समितिलाई २५ थान कुर्ची र एउटा दराज सहयोग गरेको छ। समितिमा २५२ जना जेष्ठ नागरिकहरु आवद्ध छन् ।

संस्थाका अध्यक्ष रमण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत लेखा समिति सदस्य प्रतिक लामिछानेले गरेका थिए भने सञ्चालन गोपाल खनालले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।