पोखरा । पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरको उम्मेदवारका आकांक्षी सबैको नाम सिफारिस गरेको छ ।
मतदानबाट उम्मेदवार छान्न प्रक्रिया शुरु भएपनि अन्तिममा नेकपा एमाले महानगर कमिटीको बैठकले मेयर तथा उपमेयरका सबै आकांक्षीको नाम माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय भएको हो ।
यसअघि एमाले महानगर कमिटीले उम्मेदवार छान्न निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो । जस अन्तर्गत विहान उम्मेदवारी दर्ता गरिएको थियो । जसमा यसअघि उम्मेदवारीका लागि रसिद काटेका १२ जनाले मेयर तथा ९ जनाले उपमेयरका लागि उम्मेदवारी दर्ता गरेका थिए । त्यसपछि सहमतिका लागि भएको अन्तिम प्रयासपनि असफल भएपछि महानगर कमिटीको बैठक बसेको थियो । सोहि बैठकले आकांक्षी सबैको नाम माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय गरेको एमाले पोखरा महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले जानकारी दिए ।
मेयरका लागि एमालेबाट प्रदेश सांसदहरु कृष्णबहादुर थापा र राजिव पहारी, मीनाकुमारी गुरुङ, रश्मी आचार्य, भीम कार्की, दीपक पौडेल, पुष्पज्योति ढुंगाना, दर्शन लामा, बालासिंह काउछा मगर, प्रा.डा.विश्वकल्याण पराजुली, पुष्पराज अधिकारी र सावित्री भण्डारीले नाम दर्ता गराएका छन् । मेयरका लागि आकांक्षा राख्ने थापा गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । पहारी प्रदेशसभा सदस्य तथा एमाले कास्कीका सहईञ्चार्ज हुन् । त्यस्तै, गुरुङ एमालेका केन्द्रीय सदस्य तथा कास्की सहईञ्चार्ज हुन् भने आचार्य अनेरास्ववियुका पूर्व उपाध्यक्ष तथा एमाले गण्डकी प्रदेशका उपसचिव हुन् ।
यसैगरी, कार्की एमालेका केन्द्रीय सदस्य, पौडेल एमाले गण्डकीका सचिवालय सदस्य, ढुंगाना हाइड्रो व्यवसायी, लामा पोखरा–१३ का वडाध्यक्ष, काउछा मगर एमाले केन्द्रीय सदस्य तथा कास्की सहईञ्चार्ज हुन् । त्यस्तै, प्रा.डा.पराजुली समाजशास्त्री हुन् भने अधिकारी पर्यटन व्यवसायी हुन् । मेयरका लागि आकांक्षा देखाउने अर्की महिला भण्डारी जिल्ला समन्वय समिति (जिसस) कास्कीका उपप्रमुख हुन् ।
एमालेबाट उपमेयरका लागि ३ महिलासहित ९ जनाले नाम दर्ता गराएका छन् । यसरी नाम दर्ता गराउनेमा शोभामोहन पौडेल, जीवनप्रसाद आचार्य, शुष्मा पौडेल, तेजनारायण अधिकारी, टीकाराम पंगेनी, देवका पहारी त्रिपाठी, हरिमाया गुरुङ, बैनबहादुर अधिकारी क्षेत्री, सञ्जीवबहादुर कोईराला, बामदेव ढुंगाना र बलराम गायक छन् । उपमेयरका लागि नाम दर्ता गराउने पौडेल पोखरा–१९ का वडाध्यक्ष, आचार्य पोखरा–१६ का वडाध्यक्ष हुन् । त्यस्तै उपमेयरका लागि नाम दर्ता गराएकी शुष्मा पौडेल पत्रकार तथा अधिवक्ता हुन् भने अधिकारी एमाले पोखरा महानगर कमिटीका उपाध्यक्ष, पंगेनी लेखनाथ क्षेत्रमा प्रभाव राख्ने नेता हुन् । त्यस्तै, पहारी र गुरुङ पुराना कम्युनिष्ट नेतृहरु हुन् भने अधिकारी जिसस कास्कीका प्रमुख हुन् । कोईराला नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश अध्यक्ष तथा एमाले निकट नेपाल राष्ट्रिय उद्योग महासंघका स्थायी कमिटी सदस्य हुन् । यसैगरी, ढुंगाना रेडक्रस कास्कीका निवर्तमान अध्यक्ष हुन् भने गायक पिछडा वर्गको उत्थानमा खटिएका युवा नेता हुन् ।
उपमेयरमा उम्मेदवार हुने आकांक्षा व्यक्त गर्दै रसिद काटेका दुई जनाले भने शुक्रबार उम्मेदवारी दर्ता गरेनन् । नाम दर्ता गराएरपनि व्यवसायी सञ्जीवबहादुर कोइराला र बैनबहादुर अधिकारी क्षेत्रीले उम्मेदवारी नदिएका हुन् । कोइरालाले उम्मेदवारी दर्ताको समय थाहा नहुँदा उम्मेदवारी दर्ता गर्न नपाएको बताए । ‘पूर्व सूचना दिइनुपथ्र्यो । तर हामी आकांक्षीलाई उम्मेदवारी दर्ताको समयबारे जानकारी नै दिइएन । पछि आउँदा उम्मेदवारी दर्ता नै गर्न दिइएन’–उनले भने ।
अर्का आकांक्षी अधिकारीले भने टिकट नपाउने निश्चितजस्तै भएपछि उम्मेदवारी नै दर्ता गरेनन् । उनले विहीबार साँझको छलफलपछि नै उम्मेदवारी दर्ता नगर्ने बताइसकेका थिए । नभन्दै उनले शुक्रबार विहान उम्मेदवारी दर्ता गरेनन् ।
पोखराको उम्मेदवार चयनमा पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारी हाबी छन् । गुरुङ पार्टीको उपमहासचिव र अधिकारी संगठन विभाग प्रमुख हुन् । दुबै समूहले आफू निकटकालाई टिकट दिन लबिङ गरिरहेका छन् । जस अन्तर्गत शुक्रबार निर्वाचन प्रक्रियाबाट उम्मेदवार छान्न लाग्दा दुबै समूहले छुट्टाछुट्टै प्यानल बनाएका थिए । पृथ्वी सुब्बा गुरुङ प्यानलबाट मेयरमा पुष्पज्योति ढुंगाना, मीनाकुमारी गुरुङ र दीपक पौडेल तथा खगराज प्यानलबाट कृष्ण थापा, दर्शन लामा र सावित्री भण्डारीको नाम सिफारिस गर्न प्रयास गरेका थिए । एमाले भित्र नै दुई खेमा बनाएर उम्मेदवार छनौट गर्न लागेपछि मध्यमार्गि धारले साझा उम्मेदवार चयन गर्न दवाब दिएका थिए । तर त्यसमापनि सहमति नभएपछि आकांक्षी सबैको नाम सिफारिस गरिएको एमाले निकट श्रोतले बताएको छ ।
सिफारिस नाम जिल्ला कमिटीमा पुग्नेछ । त्यहाँ सर्वसम्मत भए त्यहिंबाट नत्र प्रदेशहुँदै केन्द्रीय समितिमा पुग्नेछ । केन्द्रीय समितिले महानगरको मेयर तथा उपमेयरको उम्मेदवार टुंगो लगाउने एमालेमा प्रावधान रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






