म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक स्तरोन्नतिका लागि आज (शनिबार) देखि दैनिक ५ घण्टा बन्द गर्न थालिएको छ।
मालढुंगा–बेनी सडक निर्माणको कामलाई गति दिन आउँदो वैशाख २५ गतेसम्म दैनिक ५ घण्टा गाडीको आवत–जावत बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।
बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन रोकिएको छ। यसअघि गएको पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक ५ घण्टा गाडीको आवागमन बन्द गरिएको थियो।
बेनी–मालढुंगा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बाग्लुङ हुँदै मालढुंगा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ। एम्बुलेन्स र बिरामी बोकेका तथा विकास निर्माणका अत्यावश्यक गाडीलाई भने सहजीकरण गरी चल्न दिइनेछ।
कुश्मा नगरपालिका–१ मा पर्ने मालढुंगादेखि जलजला गाउँपालिकाका ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी २ लेनको बनाउन काम भइरहेको छ।
मालढुंगा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोर अन्तर्गत पर्छ। २०७७ साल चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ।
२०४८ सालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ सालमा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुंगा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो। सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले गाडीको आवतजावत प्रभावित हुने गरेको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







