कांग्रेसबाट पोखराको मेयरमा मन्त्री थापासहित १८ आकांक्षी, उपमेयरका लागि टीकासहित १० आकांक्षी


     एभरेस्ट आवाज    
     वैशाख ४ गते २०७९ मा प्रकाशित




पोखरा, चैत ४

पोखराको मेयरको उम्मेदवार बन्न नेपाली कांग्रेसबाट १८ जनाले आकांक्षा देखाएका छन् । नेपाली कांग्रेस पोखरा महानगर कमिटीले मेयरका आकांक्षीलाई नाम टिपाउन दिएको समयसीमा भित्र १८ जनाले नाम टिपाएका हुन् । महानगर समितिले मेयरका आकांक्षीलाई आइतबार अपराह्न चार बजेसम्ममा नाम टिपाउन समयसीमा तोकेको थियो । सो समयसीमा भित्र १८ जनाले नाम टिपाएको नेपाली कांग्रेस पोखरा महानगर कमिटी अध्यक्ष सुरेन्द्रमान बिजुक्छेले जानकारी दिए । त्यस्तै, उपमेयरका लागि उम्मेदवार बन्न १० जनाले नाम टिपाएको उनले बताए । महानगर समितिले मेयरका उम्मेदवार बन्न चाहनेलाई २५ हजार पाँच सय र उपमेयरको उम्मेदवार बन्न चाहनेलाई २० हजार ५ सय शुल्क लिएर नाम दर्ता गराएको हो । केन्द्रीय समितिले उम्मेदवार बन्न चाहनेलाई शुल्क नलिन निर्देशन दिएपनि महानगर समितिले शुल्क लिएको भन्दै आकांक्षीहरुले भने विरोध गरेका छन् ।

मेयरको उम्मेदवार बन्न किशोरदत्त बराल, विन्दुकुमार थापा, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, बाबुराम गिरीले नाम टिपाएका छन् । त्यस्तै, मेयरको उम्मेदवारका लागि सरस्वती गुरुङ, गणेशबहादुर भट्टराई, विश्वशंकर पालिखे, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले आइतबार अपराह्न चार बजेसम्मको समयसीमा भित्र नाम टिपाएको अध्यक्ष बिजुक्छेले जानकारी दिए ।

मेयरका आकांक्षी बराल नेपाली कांग्रेस कास्कीका सभापति हुन् भने अर्का आकांक्षी विन्दुकुमार थापा बहालवाला गण्डकी प्रदेशका सञ्चार, कानून तथा प्रदेश सभा मामिला मन्त्री हुन् । त्यस्तै मेयरका आकांक्षी कृष्ण केसी नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति तथा प्रदेश सभा सदस्यमा पराजित उम्मेदवार हुन् भने सुदीपमोहन भट्टराई नेपाली कांग्रेस कास्कीका पूर्व सचिव तथा हाल महाधिवेशन प्रतिनिधि, परमेश्वर पोखरेल महाधिवेशन प्रतिनिधि, बाबुराम आचार्य नेपाल सरकारका पूर्व सचिव हुन् । यसैगरी, मेयरका आकांक्षी नन्दप्रसाद तिवारी नेपाली कांग्रेस कास्कीका पूर्व सचिव, गंगाधर पराजुली प्रेस यूनियनका पूर्व केन्द्रीय उपसभापति तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष हुन् । मेयरका आकांक्षी मध्ये वीरेन्द्रनारायण बिजुक्छे तत्कालीन पोखरा उपमहानगर समितिका सभापति, बाबुराम गिरी लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, सरस्वती गुरुङ महासमिति सदस्य हुन् भने उनी अघिल्लो स्थानिय तहको चुनावमा उपसभापतिमा पराजित उम्मेदवार हुन् ।

त्यस्तै, मेयरका आकांक्षी गणेशबहादुर भट्टराई पर्यटन व्यवसायी हुन् भने उनी नेपाल पर्यटन वोर्डका पूर्व सदस्य, विश्वशंकर पालिखे नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, कोपिला रानाभाट नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सह–महामन्त्री, किरण केसी महासमिति सदस्य, विश्व घिमिरे पार्टीका प्रदेश प्रतिनिधि र ऋषि सापकोटा नेपाली कांग्रेस कास्कीका पूर्व कोषाध्यक्ष हुन् ।

त्यस्तै, उपमेयरमा टीका गुरुङ, लक्ष्मी पाण्डे, माया बराल क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, दीपक महत, मिलन थापा, चिनु गुरूङ, शिव केसी, गोविन्द नेपालीले आकांक्षा राख्दै नाम टिपाएका छन् ।

उपमेयरका आकांक्षी टीका गुरुङ समाजसेवी तथा पार्टीका प्रदेश प्रतिनिधि, लक्ष्मी पाण्डे पार्टीका पूर्व जिल्ला कोषाध्यक्ष, माया बराल महिला संघ पोखरा महानगर कमिटी अध्यक्ष, आनन्दी राणा कार्की महिला संघकी पूर्व केन्द्रीय सदस्य, रंगीला आचार्य पार्टीका पूर्व सहसचिव हुन् । त्यस्तै, मेयरका आकांक्षी दीपक महत तरुण दलबाट राजनीति गर्दै हाल क्षेत्रीय प्रतिनिधि, मीलन थापा व्यवसायी, चिनु गुरुङ सौन्दर्य व्यवसायी, शिव केसी नेपाली कांग्रेस पोखरा महानगर समितिको उपसभापतिमा पराजित उम्मेदवार हुन् भने गोविन्द नेपाली दलित अभियन्ता हुन् ।

आइतबार नाम टिपाएका आकांक्षीहरुलाई सोमबार बोलाएर सर्वसम्मतको प्रयास गरिने पोखरा महानगर समितिका सचिव गणेशबहादुर थापाले बताए । कांग्रेसमा महानगर समितिले सर्वसम्मत वा भोटिङ गरेर अनिवार्य एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ ।

श्रोतका अनुसार शुरुमा सर्वसम्मतको प्रयास हुनेछ । तर सहमति नजुटे आकांक्षी सबैको नाम केन्द्रमा पठाउने महानगर समितिको तयारी छ । मेयर तथा उपमेयरको उम्मेदवार बन्न चाहने आकांक्षीहरुले भोटिङ भए आफू तलै पराजित हुने सम्भावना भएपछि भोटिङ नगरी आकांक्षी सबैको नाम पठाउन दवाब दिएको श्रोतले बताएको छ । त्यसो भएमा पहुँचको आधारमा लबिङ गरेर उम्मेदवार बन्न सकिने उनीहरुको दाउ रहेको बताइन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।