पोखराको मेयरको उम्मेदवारका लागि एकीकृत समाजवादीबाट १४ आकांक्षी, उपमेयरमा ३


     एभरेस्ट आवाज    
     वैशाख ५ गते २०७९ मा प्रकाशित




सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी ९नेकपा एस०ले पोखरा महानगरपालिकाको मेयरको लागि १४ जनाको नाम सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी कास्कीले मेयरका आकांक्षी १४ जनाको नाम उपल्लो कमिटीमा सिफारिस गरेको हो । एकीकृत समाजवादी पोखरा महानगर कमिटीले ६ जनाको नाम सिफारिस गरेको थियो । तर त्यसको भोलिपल्ट आइतबार बसेको नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी कास्कीले मेयरमा आकांक्षा व्यक्त गर्ने थप ८ जनाको नाम थपेर कुल १४ जना आकांक्षीकै नाम उपल्लो कमिटीमा सिफारिस गरेको हो ।

मेयरको उम्मेदवार बन्न पहिलो दिन नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य, गण्डकी प्रदेश उपाध्यक्ष तथा पोखरा महानगर कमिटी ईञ्चार्ज श्रीनाथ बराल, केन्द्रीय सदस्य तथा पोखरा महानगर कमिटी अध्यक्ष धनराज आचार्य, अर्का नेता बिजयबाबु बनबासी, मदनकाजी श्रेष्ठ, दामोदर शर्मा र प्रेमबहादुर थापाको नाम सिफारिस गरिएको थियो । आइतबार पोखरा ७ का नवराज अधिकारी, पोखरा २४ का दुर्गाप्रसाद सुबेदी, पोखरा११ का देबेन्द्र बास्तोला, पोखरा १९ की भीमा पौडेल, पोखरा २१ का दाताराम आचार्य, महिला नेतृ दीलु पन्त, नारायणप्रसाद बास्तोला र पोखरा २० का चित्रप्रसाद आचार्यको नाम थपिएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।

मेयरका आकांक्षी अधिकारी एकीृकत समाजवादीका जिल्ला सचिवालय सदस्य, खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य, पर्यटन व्यवसायी संगठन नेपालका केन्द्रीय सदस्य तथा भिटोफ गण्डकीका निवर्तमान अध्यक्ष हुन् ।

त्यस्तै, पोखरा महानगरपालिकाको उपमेयरको उम्मेदवार बन्न एकीकृत समाजवादीका जिल्ला सचिव होम नेपाली, पूर्ण लामा र संगीता शर्माले आकांक्षा देखाउँदै नाम दर्ता गराएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।