माओवादीबाट पोखराको मेयर र उपमेयरका लागि ३\३ जनाको नाम सिफारिस


     एभरेस्ट आवाज    
     वैशाख ५ गते २०७९ मा प्रकाशित




पोखरा, बैशाख ५

पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार बन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र)बाट ३ र उपमेयरका ३ जनाले आकांक्षा व्यक्त गरेका छन् । गठबन्धन दलहरुबीच महानगरसहित देशैभरका स्थानिय तहहरुको भागवण्डाका विषयमा छलफल चलिरहँदा नेकपा माओवादी केन्द्रले पोखरा महानगरपालिकाको मेयरका आकांक्षीहरुको नाम सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले पोखराको मेयरका लागि बखानसिँह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम सिफारिस गरेको छ । मेयरका आकांक्षी गुरुङ नेकपा माओवादी केन्द्र कास्कीका संयोजक हुन् । त्यस्तै लामिछाने नेकपा माओवादी केन्द्रका निवर्तमान अध्यक्ष र हाल प्रदेश कमिटी सदस्य हुन् भने खड्का प्रदेश कमिटी सदस्य हुन् ।

माओवादी केन्द्रले उपमेयरका लागि गोमा ढकाल, सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरेको कमिटीका उपाध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । उपमेयरका आकांक्षी ढकाल अघिल्लो निर्वाचनमा पनि उपमेयरमा पराजित भएकी थिईन् । त्रिपाठी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बुहारी हुन् भने उनी प्रदेश कमिटी सदस्य छिन् । तिवारी कास्केली अगुवा नेता हुन् ।

गठबन्धनबाट टिकट पाए सिफारिस भए मध्येको एकले टिकट पाउनेगरी नाम सिफारिस गरिएको पार्टीका केन्द्रीय सदस्य तथा पोखरा महानगर कमिटी ईञ्चार्ज दीपक कोइरालाले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।