पोखरा विश्वविद्यालयद्धारा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन कार्यक्रम


     एभरेस्ट आवाज    
     वैशाख ६ गते २०७९ मा प्रकाशित




कास्की । पोखरा विश्वविद्यालयले रजतजयन्तीको अवसरमा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन विषयक एक दिवसीय प्रशिक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रा डा चिन्तामणि योगी र स्वामी योगानन्दले प्रशिक्षण दिएका हुन् ।

पोखरा विश्वविद्यालयका उपकुलति एवं रजतजयन्ती मूल तयारी समितिका अध्यक्ष प्रा डा प्रेमनारायण अर्यालले मान्छेको प्राण, कमाएको धन, सम्पत्ति र उसको भौतिक शरीरको कुनै ठेगान नभएको उल्लेख गर्दै उसले कमाएको नाम र प्रतिष्ठा अमर रहने हुनाले व्यक्तिगत चिन्ता र स्वार्थ छाडी सबै सत्कर्ममा लाग्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयको प्रतिष्ठा अभिवृद्धिका लागि सम्बन्धित सबैले अनावश्यक रिस, राग, द्वेष र घृणा छाड्नुपर्ने उल्लेख गर्दै उनले विश्वविद्यालय बनाउन सबै एकजुट हुनुपर्ने र एकले अर्कालाई विश्वासमा लिई काम गर्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका रजिष्ट्रार डा दीपकबहादुर भण्डारीले कम्प्युटरमा हार्डवेयर र सफ्टवेयर भएजस्तै मान्छेको शरीररूपी हार्डवेयरमा काम नलाग्ने विचारलाई हटाई नयाँ–नयाँ सिर्जनात्मक एवं सकारात्मक सोचहरूले मस्तिष्कलाई समयानुकूल रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख एवं कार्यक्रम संयोजक दीपकराज पौडेल, डा अर्जुनकुमार थापालगायतले जिम्मेवारीबाट पन्छिदैमा तनाव कम नहुने र जिम्मेवारी निर्वाह गर्नु पनि तनाव व्यवस्थापनको एक पाटो भएको बताए । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारीलगायत लगभग २०० जनाको उपस्थिति थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।