म्याग्दीबाट एसइईमा संस्कृततर्फ नौ विद्यार्थी सहभागी हुँदै


     एभरेस्ट आवाज    
     वैशाख ६ गते २०७९ मा प्रकाशित




म्याग्दी । यही वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा म्याग्दीमा पहिलो पटक संस्कृति विषयतर्फबाट विद्यार्थी सहभागी हुने भएका छन् ।

बेनी नगरपालिका–९ गलेश्वरस्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट नौ जनाले एसइईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिए । विद्यालयमा संस्कृत बिषयसमेतमा अध्यापन हुँदै आएको छ । यसैगरी उज्यालो वैकल्पिक विद्यालयबाट पाँच आमासमेतले परीक्षामा सहभागीता जनाउने छन् ।

परीक्षामा जिल्लाका विभिन्न पाँच प्राविधिक धारतर्फका १३१ विद्यार्थीले सहभागी जनाउने छन् । जिल्लामा कुल दुई हजार २४५ परीक्षार्थीमध्ये छात्र एक हजार ९५ र छात्रा एक हजार १५० छन् । परीक्षामा एक खुला विद्यालयसहित ७४ विद्यालयका विद्यार्थीले सहभागीता जनाउने कार्यालयले जनाएकोछ ।

परीक्षामा ग्रेड वृद्धिका लागि आठ जनाले सहभागी हुन लागेका छन् । जिल्लामा एसइई परीक्षा सञ्चालनको लागि नौ परीक्षा केन्द्र तोकिएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष नियुक्त गरी उनीहरुलाई अभिमूखिकरणसमेत गरी सम्बन्धीत परीक्षा केन्द्रको परीक्षा सञ्चालनको तयारीमा खटाइएको छ ।

यस वर्ष राष्ट्रिय परीक्षा बोर्डको परिपत्र बमोजिम सम्बन्धित परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको छ । परीक्षा सञ्चालनका लागि बेनीको प्रकाश मावि, बेनी सामुदायिक मावि, न्यू वेष्ट प्वाइन्ट आवासीय मावि, धवलागिरि मावि सिङ्गा, मंगला मावि बावियाचौर, जनप्रिय मावि दरबाङ, हेम मावि सिवाङ, मुक्तिधाम मावि भगवती र मुक्तिमार्ग मावि घारलाई परीक्षा केन्द्र तोकिएको छ ।

सदरमुकाम बाहिर रहेका परीक्षा केन्द्र नजिक रहेका प्रहरी चौकीमा प्रश्नपत्र र उत्तरपुस्तीका पठाउन सुरु गरिएको छ । परीक्षालाई मर्यादित र शान्त बनाउनका लागि जिल्ला परीक्षा समितिसँगै स्थानीय तहसमेतलाई सम्बन्धीत पालिकामा रहेका परीक्षा केन्द्रको अनुगमन गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।