फाइल तस्विर : प्रधानमन्त्री शेरबहादुर देउवा
काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताएका हुन् ।
“गठबन्धनले कांग्रेसलाई फाइदा पुगेको छ, धेरै प्रदेशमा मुख्यमन्त्री र मन्त्री पाएका छौँ, कांग्रेसमा मैले राम्रो काम गरेजस्तो लाग्छ, गठबन्धन अहिले तोड्नु हुँदैन, निर्वाचनमा एक्लै कुनै पार्टीको बहुमत ल्याउने अवस्था छैन, त्यसैले गठबन्धनलाई अगाडि लिएर जानुपर्छ,” प्रधानमन्त्री देउवाले भने ।
सभापति देउवाले जबसम्म गाउँ र स्कूल तहमा नेविसङ्घ गठन हुन सक्दैन तबसम्म नेविसङ्घ बलियो हुन नसक्ने बताए । “नेविसङ्घको सङ्गठन देशभरका कलेज र क्याम्पससम्म फैलिएको छ, तरपनि हामी किन स्ववियु निर्वाचनमा हारिरहेका छौँ, यसबारे नेविसङ्घ गम्भीर हुनुपर्छ, स्कूल जित्न सकेमात्र कलेज र क्याम्पसमा जित्न सक्छौँ ,” उनले भने । गाउँगाउँ र स्कूल स्कूलसम्म नेविसंघ बनाउन लाग्नुपर्ने उनको भनाइ थियो ।
सभापति देउवाले पार्टीभित्र भागवण्डामा झगडा हुने भएकाले नेविसङ्घको कार्यसमिति विस्तारमा समस्या हुने गरेको बताए । उनले आफू नेविसङ्घको अध्यक्ष भएर प्रधानमन्त्री भएको बताउँदै अब मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बन्ने पालो युवा विद्यार्थीको भएको बताए ।
“राजनीति गरेर मात्र अब चल्दैन पढाइसमेतमा योग्य हुनुपर्छ”, सभापति देउवाले भन्नुभयो । कांग्रेस एक भएर अगाडि बढे आगामी निर्वाचनमा कुनै शक्तिले हराउन नसक्ने दावी समेत गरे ।
स्थापना दिवसको उक्त कार्यक्रममा सभापति देउवाले नेविसङ्घका संस्थापक सभापति विपिन कोइराला, उपसभापति सनद रेग्मी, महामन्त्री टिका पोखरेल, सदस्य रामचन्द्र पौडेल, सुरेन्द्रबहादुर विष्ट, केदार न्यौपाने, भरत पाण्डे, दामोदर गौतम, चक्रराज पन्त, बसन्त गुरुङ, राजन्द्रबहादुर शाहलगायतलाई सम्मान गरिएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






