डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने


     एभरेस्ट आवाज    
     वैशाख ७ गते २०७९ मा प्रकाशित




सांकेतिक तस्बीर

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउदै छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी भोलि (वैशाख ८ गते) अपराह्न १२ः२५ बजे नेपाल आउन लागेका हुन्।

तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने छन् । त्यसैगरी उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन् ।

यस्तै नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि छलफल गर्ने छन् । महानिर्देशक तीनदिने सद्भाव भ्रमणमा नेपाल आउन लगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए ।

भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ । महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी वैशाख १० गते नेपालबाट फकिर्ने कार्यक्रम रहेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।