ऋण सम्झौतापछि खानेपानी योजना निर्माण थालियो


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०७९ मा प्रकाशित




तनहुँ । तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नगर विकास कोषबीच ऋण सम्झौतापछि निर्माण कार्य अघि बढेको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरैबीच उक्त सम्झौता भएको हो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएपछि सहलगानी आयोजनाअन्तर्गत मादीनदी लिफ्टी–खानेपानी आयोजनाका लागि रु तीन करोड ८१ लाखको ऋण सम्झौता भएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भई बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल खानेपानी आपूर्तितर्फ रु १५ करोड २४ लाख ३६ हजारको दुवै कार्यालयबीच सम्झौता भएको हो । उपभोक्ताबाट सङ्कलित पाँच प्रतिशत अर्थात् रु एक करोड ३१ लाख खातामा जम्मा गरिसकेपछि सम्झौता भएको हो ।

व्यास नगरपालिका–४ स्थित मादी नदी किनारबाट व्यास नगरपालिका–१ को अमिली भञ्याङमासम्म करिब पाँच किलोमिटर लामो दूरीबाट पानी ल्याउन लागिएको भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।