ग्याँस कारखानामा बिष्फोट: एक जनाको मृत्यु, ६ घाइते,घटनाको छानविन गर्न गृहमन्त्रीको निर्देशन


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०७९ मा प्रकाशित




काठमाडौं । ललितपुर जिल्लाको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा ग्याँस कारखानामा आज (बिहिबार) बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।

एक जनाको घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । अन्य घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । मृतक र घाइतेलाई कारखानामा काम गर्ने मजदुरहरु रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई पाटन र बीएण्डबी अस्पताल लगिएको छ ।

उक्त घटनाको छानविन गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानविन गर्न निर्देशन दिएका हुन् ।

ललितपुरका प्रजिअ उपाध्यायका अनुसार उक्त विष्फोटमा एक जनाको मृत्यु भएको छ । विष्फोटमा छ जना घाइते भएका र तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीले प्लान्टमा कार्यरत अन्य श्रमिकको उद्धार गरेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।