बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाको वडा नं ५ मा अन्नबाली र फलफूलखेती विस्तार गर्न रुख काट्ने अभियान सुरु गरिएको छ । गाउँपालिकाले डेढ वर्षअघि गरेको निर्णयानुसार खेतीपातीलाई असर पर्ने रुख कटान गर्न थालिएको हो ।
सुन्तला लगायतका बालीमा असरपर्ने १० मिटर वरिपरिका रुख काट्न थालिएको वडा नं ५ का अध्यक्ष शिवप्रसाद कँडेलले बताए । रुख काटेपछि अन्नबालीको उत्पादन बढाउन सकिने स्थानीयवासी टीकाराम सापकोटाले बताए ।
उनको बारीमा उम्रेका अनुत्पादक रुख काटेर अहिले धान, गहुँ र मकै लगाउने गरिएको छ । त्यहाँका किसानले बारीमा अदुवा र बेसार जातको खेतीसमेत गरेका छन् ।
यसअघि वडा नं ६ मा अनुत्पादक रुख काटेर सुन्तलाका बिरुवा हुर्काउने चलन सुरु भएको थियो । यो अभियानबाट किसानले बढी फाइदा लिन थालेपछि वडा नं ५ को माथिल्लो बिहुँमा पनि अभियानकै रुपमा रुख काट्न थालिएको हो ।
जिल्लाका अन्य पालिकामा पनि फलफूल र तरकारीसमेत लगाउने बारीमा रुख काट्ने अभियान चलेपछि गाउँ रमाइला देखिन थालेका छन् । बागलुङ–६ को सिम गाउँमा पनि यस्तै अभियान चलेको छ । पहिला सदरमुकामबाट जङ्गल मात्रै देखिने यो गाउँका रुख काटेपछि उघारो देखिन्छ ।
सिमका किसानले पनि रुख काटेपछि बारीमा व्यावसायिक रुपमा तरकारीखेती लगाउन थालेका छन् । मध्यपहाडी लोकमार्गको छेवैमा रहेकाले बिहुँमा भने यातायातमा पनि सहज अवस्था आएको छ । घुम्तीमा विपरीत दिशाबाट आएका सवारीसमेत नदेखिने समस्या अहिले हट्न थालेको हो ।
वडा नं ५ को रिजालचोकदेखि घोडाबाँधेहुँदै भ्यूटावर जाने सडक खण्डमा पनि केही रुख काट्नुपर्ने अवस्था परेको स्थानीयवासीले बताएका छन् । रुख फँडानीका लागि टोल–टोलमा समिति गठन गरिएको वडा नं ५ को मिलन चोकका प्रेम श्रीषले जानकारी दिए । रुख कटानका लागि त्यहाँका किसानले मेसिन खरिद गरेर ल्याएका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







