किसानलाई सधैँ मल अभाव


     एभरेस्ट आवाज    
     वैशाख ९ गते २०७९ मा प्रकाशित




बागलुङ । मकै खेतमा रासायनिक मल ९डिएपी० हाल्ने बेला भएको छ । गोडमेल गर्ने बेलामा डिएपी मल हालिसक्नुपर्छ । तर बागलुङका किसानले डिएपी नपाएर भौंतारिनुपरेको छ ।

मलबिनै मकै खेती गरेका यहाँका किसान अहिले पनि उस्तै समस्यामा छन् । मकैको गोडमेल गर्ने बेलामा आवश्यक डिएपी मलको अभाव हुँदा यहाँका किसान मर्कामा परेका छन् । सिँचाइ सुविधा भएका बागलुङका फाँटमा मकैको गोडमेल गर्ने बेला भएको छ । किसानले डिएपी मल नपाएको गुनासो गर्न थालेका छन् ।

हिउँदे बालीमा रासायनिक मलको कम खोजी गर्ने यहाँका किसानले मकै र धानबालीका लागि भने मलको खोजी गर्ने गरेका छन् । पहिलो गोडमेलको समयमा मकैको बिरुवामा प्रयोग गर्दै आएको रासायनिक मल किसानले बजारमा नपाएका हुन् । “बजारमा पनि मल पाइएन, यता सहकारीहरूमा पनि मल छैन भन्छन्”, किसानहरु भन्छन्, “मल नपाउँदा मकै बाली बिग्रिन लागेको छ ।” खेतीपातीका बेला जहिले पनि मलको अभाव हुँदा किसान समस्यामा पर्ने गरेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय बागलुङका अनुसार भदौ महिना यता डिएपी मल डिपोमा आएको छैन । “हामीले मकै गोडमेल गर्ने बेला मल पाएनौँ, सधैँ ल्याउने सहकारीले यो पटक गाउँमा मल ल्याएको छैन”, जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान गणेश पौडेलले भने, “यो पटक मल नराखी गोडमेल गर्नुपर्ने भो, मकै पसाउँछ कि पसाउँदैन थाहा छैन ।” कर्पोरेशनले कृषि विज्ञको सल्लाहका आधारमा सिङ्गल सुपर फसफेट मल भने वितरण गर्दै आएको छ ।

यो मलमा नेपाल सरकारको अनुदान छैन । वैकल्पिकरुपमा प्रयोगमा ल्याइएको सिङ्गल सुपर फसफेट डिएपीभन्दा सोही परिणामको उत्पादन लिनका लागि दोब्बर प्रयोग गर्नुपर्ने हुन्छ । डिएपीमा फस्फोरसको मात्रा ४६ प्रतिशत र सिङ्गल सुपर फसफेटमा फस्फोरसको मात्रा १६ प्रतिशत मात्रै हुने भएकाले फस्फोरसको मात्रा बराबर गर्न दोब्बर प्रयोग गर्नुपर्ने उनीहरुको भनाइ छ ।

बागलुङका अधिकांश पालिकाले मकै पकेट कार्यक्रम सञ्चालन गरिरहेका छन् । उन्नत जातको मकै र मकैको बीउ उत्पादनको कार्यक्रमसमेत रहेको बागलुङमा रासायनिक मलको अभावले उत्पादनमा क्षति गर्ने कृषि प्राविधिक बताउँछन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।