गठबन्धनबाट पोखराको मेयरमा धनराज आचार्यलाई उम्मेदवार बनाउने एकीकृत समाजवादीको निर्णय


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०७९ मा प्रकाशित




पोखरा, बैशाख १०

नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई उम्मेदवार बनाएको छ । नेकपा एकीकृत समाजवादीको शनिबार बसेको बैठकले आचार्यलाई पोखरा महानगरको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकबाट औपचारिक रुपमा आचार्यको नाम टुंगिएपनि सार्वजनिक भने गरिएको छैन ।

बैठकको निर्णयबारे जानकारी दिदै नेकपा एकीकृत समाजवादीका एक पोलिटब्यूरो सदस्यले भने,‘निर्णय भइसकेको छ तर सार्वजनिक भोलि आइतबार मात्रै गर्ने भनेर गोप्य राखिएको छ ।’ उनले आचार्यको नाम गठबन्धनको बैठकले पहिले नै तय गरेकोपनि दाबी गरे । ‘पार्टीबाटै निर्णय होस् भनेर औपचारिकता मात्रै दिइएको हो नत्र त गठबन्धनको बैठकले नै आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो’–उनले भने ।

तर स्वयम् आचार्यले भने आफू उम्मेदवार भएकोबारे औपचारिक जानकारी पाइनसकेको बताए । उनले भने,‘निर्णय भयो भन्ने आएको छैन । औपचारिक जानकारी नआएकाले यसै भन्न सकिएन ।’

सो पार्टीका अर्का आकांक्षी श्रीनाथ बराललेपनि औपचारिक निर्णय भएकोबारे आफू अनभिज्ञ भएको बताए । ‘निर्णय नै भइसकेको भन्ने आएको छैन । सायद ! भोलि आइतबार सम्ममा टुंगिएला’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।