काठमाण्डौं । पाइलट विजय लामाले रेणु दाहालले भरतपुर महानगरको मुहार नै फेरिदिएको बताएका छन्। सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार भएकी नेकपा (माओवादी केन्द्र) की नेता रेणु दाहालले विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गरेकाले भरतपुरको मुहार फेरिएको बताएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पाइलट लामाले विकास र समृद्धिका लागि अहोरात्र खट्ने नेताहरु नै जनताको रोजाइमा पर्नुपर्ने बताएका छन्।
‘एक सचेत नागरिकको हिसाबमा मैले पनि यी सबै कुरा नजिकबाट नियालिरहेको छु। जब जब भरतपुर पुग्छु, भरतपुरले विकासको लय समातेको आभास हुन्छ। जसको नेतृत्व एक चेलीले गरिरहनुभएको छ। म उहाँलाई खासै चिन्दिनँ। न त निकट सम्बन्ध छ’ लामाले लेखेका छन्, ‘तर भरतपुरको मुहारमा जे जति परिवर्तन ल्याउन खोज्नु भयो त्यसप्रति मेरो उच्च सम्मान छ। मैले उहाँलाई चिनेको भनेको भरतपुर नगरपालिकाको फेरिएको मुहारले गर्दा हो। एउटा नेपाली चेलीले अगाडि बढाएका योजना, गरेको विकास र उपलब्धि साँच्चै गर्व गर्नलायक छ।’
दाहालले गरेको कामलाई नजरअन्दाज नगर्न लामाले आग्रह गरेका छन्। ‘पार्टी जुनसुकै होस् व्यक्ति र परिवेश जस्तोसुकै होस् हामीलाई चाहिएको विकास र समृद्धि हो। विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गर्ने नेता नै नेपाली जनताको रोजाई बन्नुपर्छ’ लामाले भनेका छन्, ‘यस्तै चेलीहरु नेतृत्वमा आएर खुरुखुरु काम गरेर देशलाई समृद्ध बनाउनु पर्छ।’ दाहाल भरतपुरको दोस्रो कार्यकालका लागि गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार भएपछि लामाले खुलेरै प्रशंसा गरेका हुन्।
फेसबुकमा जस्ताको त्यस्तै
हुन त मान्छेको नाम नै ठूलो हो भन्ने गरिन्छ। तर नाम भन्दा पनि ठूलो काम हुन्छ भन्ने मान्यता राख्ने मान्छे हो म। कसैको नाम उसको कामले ठूलो हुन्छ। त्यसैले म नामलाई भन्दा पनि व्यक्तिको कामलाई कदर गर्छु र असल काम गर्नेको प्रशंसा गर्न म संकोच मान्दिनँ। चाहे मैले नचिनेको व्यक्ति नै किन नहोस् कसैले राम्रो काम गरेको छ भने उसको खुलेर प्रशंसा गर्छु र चाहे जति निकटको मान्छे होस् यदि उसले खराब काम गरेको छ भने म उसको पक्षपोषण गर्न सक्दिनँ।
चुनाव आउँदैछ अब यहाँ अनेक जुक्ति लगाएर असललाई विपक्षीले सजिलै खराब करार गर्छन्। अनि खराबहरु एकदमै असल ठहरिन लाख कोशिस गर्छन्। तर नेपाली जनतालाई चाहिएको विकास र समृद्धि हो। आफ्नो गाउँ शहरलाई विकसित, सुरक्षित र समृद्ध बनाउछु भनेर जनतालाई ठुला ठूला सपना देखाएका हजारौं नेता आज मेयरको कुर्सीमा छन्। केही नेताहरू पुनः मेयरको कुर्सीको लागि लड्न तयार छन्। यस्तोमा कसले कति ग¥यो त्यसको लेखाजोखा जनताले गर्नैपर्छ।
एक सचेत नागरिकको हिसाबमा मैले पनि यी सबै कुरा नजिकबाट नियालिरहेको छु। जब जब भरतपुर पुग्छु, भरतपुरले विकासको लय समातेको आभास हुन्छ। जसको नेतृत्व एक चेलीले गरिरहनु भएको छ। म उहाँलाई खासै चिन्दिनँ। न त निकट सम्बन्ध छ। तर भरतपुरको मुहारमा जे जति परिवर्तन ल्याउन खोज्नुभयो त्यसप्रति मेरो उच्च सम्मान छ।
मैले उहाँलाई चिनेको भनेको भरतपुर नगरपालिकाको फेरिएको मुहारले गर्दा हो। एउटा नेपाली चेलीले अगाडि बढाएका योजना, गरेको विकास र उपलब्धि साँच्चै गर्व गर्नलायक छ। उहाँले गरेका उदाहरणीय कामलाई नजरअन्दाज गर्न सकिँदैन। पार्टी जुनसुकै होस्, व्यक्ति र परिवेश जस्तोसुकै होस् हामीलाई चाहिएको विकास र समृद्धि हो। विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गर्ने नेता नै नेपाली जनताको रोजाइ बन्नुपर्छ। यस्तै चेलीहरु नेतृत्वमा आएर खुरुखुरु काम गरेर देशलाई समृद्ध बनाउनु पर्छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





