देवललगायत पुरातात्विक सम्पदा ओझेलमा


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०७९ मा प्रकाशित




म्याग्दी । तत्कालीन पर्वत राज्यको सदरमुकाम रहेको म्याग्दीका बेनीबजार, पुलाचौर, ढोलठान, डढेकोट ताकम र ज्यामरुककोटमा रहेको ऐतिहासिक देवल र पुरातात्विक सम्पदा संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् ।

त्यहाँ मल्लकालीन समयका ऐतिहासिक सम्पदा र पुरातात्विक तथा शिखरशैलीका देवल,मठ मन्दिर, कुवा, धारा, ओखल आदि सम्पदा प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा पर्दै गएका हुन् ।

बडादसैँ, चैतेदसैँ, कृष्णजन्माष्टमी, श्रीपञ्चमीलगायत चाडपर्वमा मानिस जम्मा भएर ती सम्पदाबारे चासो राख्ने गरे पनि अघिपछि वास्तै नगर्दा अमूल्य सम्पदा नष्ट हुँदै गएका छन् । जिल्लाका विभिन्न ठाउँमा ढुङ्गैढुङ्गाले बनेका शिखर शैलीका थुम्का, देवल र मठ छन् ।

त्यसैगरी पर्वते मल्लराजा डिम्बबम मल्लले निर्माण गर्न लगाएको ओखल र कुवा पनि संरक्षणको अभावमा पुरिँदै जान थालेका स्थानीयवासीले बताएका छन् । विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीमा रहेको इतिहासकार चन्द्रप्रकाश बानियाँले जानकारी दिए ।

चौधौँ शताब्दीताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता राजा डिम्बबमद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवं पर्यटकीय दृष्टिकोणलेसमेत प्रसिद्ध छ । यो मन्दिर ढोठानदेखि केहीमाथि र डढेकोट दरबारदेखि केही तल केभहिलको नजिकै छ । त्यहाँ प्रशस्तै ऐतिहासिक सम्पदा रहे पनि संरक्षणको अभावमा ती सम्पदा लोपहुँदै गएका स्थानीयवासी यामबहादुर बानियाँले बताए ।

ढोलठान क्षेत्रको शिरमा रहेको केबहिलबाट मनोरम हिमशृङ्खला नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो । यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बागलुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साविकका ३६ गाविस देख्न सकिने स्थानीय बासिन्दा शिव बानियाँले बताए ।

समुद्री सतहदेखि करिब दुई हजार ४०० मिटर उचाइमा रहेको सदरमुकाम बेनी बजारदेखि करिब डेढ÷दुई घण्टाको पैदलयात्रापछि पुग्न सकिने ढोलठान प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वको हुनाका साथै धार्मिक दृष्टिकोणले समेत प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बानियाँको भनाइ थियो ।

ढोलठानको शिरमा पर्ने केभहिलको नजिकै रहेको धार्मिक दृष्टिले पवित्र मानिएको गाजने गाउँमा मादकपदार्थ र मांसाहार निषेधित गरेर नेपालकै उदाहरणीय गाउँ बनेको छ । त्यसैगरी ज्यामरुककोटमा रहेको पाँच सय वर्ष पुरानो राजकुवा पनि संरक्षणको अभावमा पुरिँदै गएको स्थानीयवासी खिमबहादुर कार्कीले बताए ।

विसं २०७६ मा स्थानीयवासीको पहलमा पुनः निर्माण भए गरिएकोकुवा जीर्ण बन्दै गएको छ । स्थानीय सरकार गठन भइसकेपछि त्यस्ता पुरातात्विक सम्पदालाई सूचीकरण गरी संरक्षण र सम्वद्र्धनका लागि गाउँपालिका लागिपरेको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए। रासस
––––


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।