श्रममन्त्री नेतृत्वको टोली बुधबार मलेसिया जाने


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०७९ मा प्रकाशित




काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उनी चार दिने मलेसिया भ्रमणमा जान लागेको मन्त्रालयले जनाएको छ ।

श्रममन्त्री श्रेष्ठसँग यहाँस्थित मलेसियाको राजदूतावासका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले मन्त्रालयमा भेटवार्ता गरेका थिए । भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका साथै सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

मलेसियाका कार्यवाहक राजदूत फ्याजलले उनको मलेसिया भ्रमण र त्यसका एजेण्डाबारे छलफल गरेका थिए । मन्त्री श्रेष्ठका साथमा सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसालसहितको टोली बुधवार दिउँसो मलेसिया जाने कार्यक्रम छ ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नेछन् भने सचिव अर्यालले मलेसियाको गृहमन्त्रालयका सचिव र सामाजिक सुरक्षा सङ्गठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल–मलेसिया संयुक्त समितिको बैठकका एजेण्डा तय गरिनेछ ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने र श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यान्वयनका विषयमा नेपाली प्रतिनिधिमण्डलले छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग समेत छलफल गर्ने कार्यक्रम छ । मलेसिया नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलकका रुपमा रहेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।