पोखरा ७ मा नेकपा (एमाले) को प्रतिवद्धतापत्र सार्वजनिक


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०७९ मा प्रकाशित




पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं.७ मा प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । शुक्रवार वडा नं. ७ निर्वाचन कमिटी उम्मेदवार परिचय तथा प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिवद्धता पत्रमा सशप्रतिशत साक्षरता वडा निर्माणका लागि विद्यालय उन्मुख बालबालिकाहरुलाई भर्ना अभियानमा जागरुक गराउने तथा विद्यार्थी भर्ना अभियानमा वडा शिक्षा समितिद्धारा आवश्यक कार्यक्रमहरु गरिने, वडाभित्र पर्ने सरकारी अस्पताल, स्वास्थ्य संस्थाहरुमा निःशुल्क वितरण गर्ने औषधीहरुको पहुँच वृद्धि गर्न पहल गर्ने तथा त्यस्ता संस्थाहरुको अनुगमन गरिने, तरकारीमा आत्मनिर्भर वडाको रुपमा विकास गर्न वडा भित्र बसोबास गर्ने कृषकहरुलाई उन्नत बिउ विजनको व्यवस्था गरिने, साथै कौसी खेती तथा कृषि विकासको लागि कृषकलाई आवश्यक तालिम उपलब्ध गराइने, दलित, जनजाति, एकल महिला तथा आर्थिक विपन्न वर्गको लागि आश्वयकता बमोजिम आर्थिक विकासका कार्यक्रमहरुलाई अगाडी बढाउन सीप विकासका कार्यक्रमहरु आयोजना गरिने, वडा नं.७ को समग्र वडा प्रोफाईल तयार गरिने, सेवा प्रवाहलाई प्रविधि मैत्री र अपाङ्खमैत्री बनाइने, वडामा रहेको सार्वजनिक सम्पत्तीको संरक्षण गरिने, वडा भित्रका सार्वजनिक खुला क्षेत्रहरुको संरक्षण गर्दै जैविक, वातावरणीय तथा पर्यावरण संरक्षणको लागि अक्सिजन उत्पादन क्षमता बढी भएका बोटविरुवाहरुको वृक्षारोपण गरिने लगायत रहेका छन् ।

प्रतिवद्धता पत्र सार्वजनिक गर्दै वडा नं. ७ का वडाध्यक्षका प्रत्यासी किशोर बरालले प्रतिवद्धता पत्रमा समावेश विषय अक्षंरश पालना गर्ने बताउँदै सबै सदस्यलाई साथ लिएर अघि बढ्ने बताएका छन् । उनले अघिल्लो जनप्रतिनिधिले गर्न बाँकी रहेका कार्य पूरा गर्ने र आगामी दिनमा गर्नुपर्ने नयाँ कामहरु पनि गर्दै जाने बताए । आफु जनप्रतिनिधि चुनिएपछि जनताले लाज मान्नुपर्ने अवस्था आउन नदिने बताउँदै जनताको शिर सँधै उचो राख्ने तरिकाले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

वडा नं.७ मा वडाध्यक्षमा किशोर बराल, महिला सदस्यमा बसुन्धरा लामिछाने, दलित महिला सदस्यमा सुनिता सुनार, खुल्ला सदस्यमा अर्जुन थापा र विष्णुमणी बराल प्रत्यासी रहेका छन् । सोही अवसरमा निर्वाचन प्रचार गीतको पनि सार्वजनिक गरिएको थियो । कार्यक्रम निर्वाचन परिचालन कमिटी संयोजक शारदा गिरीको अध्यक्षतामा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।