रानीपौवाको शोभाभगवती मन्दिरमा आइतबारदेखि इही कार्यक्रम हुँदै


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०७९ मा प्रकाशित




पोखराको रानीपौवास्थित शोभा भगवती मन्दिरमा इही (सुवर्णकुमार विवाह) कार्यक्रम हुँदैछ।

कास्कीमा गठित नेवाः देय् दबू जिल्ला तथा पोखरा महानगर समितिको संयुक्त आयोजनामा आइतबार र सोमबार गरी २ दिन न्यूनतम शुल्कमा सामूहिक इही कार्यक्रम गर्न लागेको हो।

इही कार्यक्रममा सहभागी प्रत्येक कन्याहरुका लागि यस पटक ३ हजार रुपैयाँ मात्रै शूल्क तोकेको नेवाः देय् दबूका अध्यक्ष अष्टमान प्रधानाङ्गले जानकारी दिएका छन्।

अध्यक्ष प्रधानाङ्गका अनुसार सो शुल्कमध्येबाट इहीः पतासी (साडी) निशुल्क उपलब्ध गराउनुका साथै इहीः कार्यक्रमको पहिलो दिन इहीः गरिने कन्या तथा एक जना अविभावकलाई निशुल्क भोजन गराइने र समापनको दिन संपूर्णलाई प्रसादका रुपमा खीर खुवाइनेछ।

नेवाः परिवारहरुमा एकातर्फ संस्कृति जगेर्ना गर्नु पर्ने सामाजिक रुपले बाध्य गराइन्छ भने अर्को तर्फ हुनेखानेका कारण क्रमश खर्चालु पनि हुदै गइरहेको अवस्थामा कम खर्चमा कार्यक्रम गर्न लागेको हो।

आर्थिक लाभ नलिने अभिप्रायले यस किसिमको सामाजिक कार्य गर्न लागेको प्रधानाङ्गले बताए। उनले भनेका छन्, ‘हामीले यस कार्यलाई न्यूनतम शुल्कमा गर्ने प्रयास गरेका छौ।

‘हुनेखानेले अत्यधिक खर्च गरेर आफ्नो सांस्कृतिक कृयाकर्महरु गरिरहँदा निम्न आय भएकाहरुले पनि देखासिखी ऋण धन गरेर पनि यि कार्यहरु गर्न बाध्य छन्। नगरौ समाजले हेय दृष्टीले हेर्ने गरौ आफ्नो औकातले नभेट्ने तर पनि ऋण खोजेरै भए पनि समाजको मुख टाल्नुपर्ने बाध्यता छ,’ नेवाः देय् दबू कास्कीका एक सदस्यको भनाई छ।

आयोजक नेवाः देय् दबू कास्कीका अनुसार आगामी वर्षहरुमा नेवारी संस्कार अन्तर्गत छोराहरुमा नेवाः बिधीबाट गरिने बुसँखा र केयता पूजा (ब्रतबन्ध) पनि समुहगतका रुपमा गरिनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।